सुधन गुरुङविरुद्ध जाहेरी दिन पुगेका जेनजीहरुलाई प्रहरी परिसरको गेटबाटै फर्काइयो
उक्त घटनाको सत्यतथ्य छानबिन तथा आवश्यक कानुनी कारबाहीको माग गर्दै जाहेरी दिन पुगेका अभियानका प्रतिनिधिहरूलाई परिसरको गेटबाटै फर्काइएको अभियानका अभियन्ता प्रकाश बमले बताएका छन्।
काठमाडौं, जेठ २५ : राष्ट्रिय जेनजी नागरिक अभियानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वगृहमन्त्री सुधन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न जाँदा प्रहरीले गेटबाटै फिर्ता पठाएको भन्दै आपत्ति जनाएको छ।
सोमबार अभियानका प्रतिनिधि सांसद गुरुङले प्रहरी हिरासत कक्षभित्र प्रवेश गरी जेनजी अभियन्ताहरूसँग धम्कीपूर्ण तथा अभद्र व्यवहार गरेको, ‘देखाइदिन्छु’ भन्दै विभिन्न अपशब्द प्रयोग गरी मानसिक तथा राजनीतिक दबाब सिर्जना गर्न खोजेको आरोपमा जिल्ला प्रहरी परिसर, भद्रकालीमा जाहेरी दर्ता गर्नको लागि पुगेको थिए।
उक्त घटनाको सत्यतथ्य छानबिन तथा आवश्यक कानुनी कारबाहीको माग गर्दै जाहेरी दिन पुगेका अभियानका प्रतिनिधिहरूलाई परिसरको गेटबाटै फर्काइएको अभियानका अभियन्ता प्रकाश बमले बताएका छन्।
‘हिरासतमा बस्दा पूर्वगृहमन्त्री सुदन गुरुङ त्यहाँ आएर हामीलाई अभद्र व्यवहार गर्नुभयो। उहाँले ‘तिमीहरू कोबाट परिचालित छौ ? गर्न खोजेको के हो ? तिमीहरूलाई अन्तिम चेतावनी हो’ भन्दै धम्की दिनुभयो। सत्ताको आडमा जे पनि गर्न पाइन्छ भन्ने प्रवृत्तिविरुद्ध जाहेरी दिन आएका थियौं। तर प्रहरी परिसरले गेटबाटै फर्काउने वातावरण बनायो। यहाँ त जाहेरी नै लिन मानिएन,’ उनले भने।
बमले आफूहरूलाई गेटबाटै फर्काइनु न्यायिक प्रक्रियामाथिको अविश्वास बढाउने घटना भएको उल्लेख गर्दै यसलाई तानाशाही प्रवृत्तिको संकेत भएको टिप्पणी गरे।
अभियानले घटनाबारे निष्पक्ष छानबिन गरी पीडित पक्षको जाहेरी दर्ता गर्न तथा कानुनबमोजिम प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेको छ।












