फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
इन्डोनेसियाका उत्तरी सुलावेसी, गोरोंतलो प्रान्त र साङ्गीहे टापुहरूमा पनि सुनामी चेतावनी जारी गर्दै बासिन्दालाई उच्च स्थानमा जान निर्देशन दिइएको छ। जापान, फिलिपिन्स र इन्डोनेसियाका अधिकारीहरूले समुद्री क्षेत्रमा खतरनाक छालाको जोखिमबारे चेतावनी जारी गरेका छन्।
काठमाडौं, जेठ २५ : फिलिपिन्सको दक्षिणी टापु मिन्दानाओ नजिक केन्द्रविन्दु भएर आएको ७।७ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि प्रशान्त क्षेत्रका धेरै देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ।
अल जजिराका अनुसार भूकम्प सोमबार बिहान सबेरै गएको हो, जसले फिलिपिन्समा ठूलो संरचनागत क्षति पु¥याएको प्रारम्भिक विवरण प्राप्त भएको छ। भुकम्पका कारण हालसम्म ५ जनाको मृत्यु भएको पुष्टि भएको छ।
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले प्रारम्भिक झट्कापछि एक घण्टाभन्दा बढी समयसम्म परकम्पहरू आएको जनाएको छ।
भूकम्पपछि फिलिपिन्समा आपत्कालीन निकायहरू सक्रिय गरिएको छ। नागरिक सुरक्षा कार्यालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्लाई उद्धार तथा राहत कार्यमा परिचालन गरिएको छ।
अधिकारीहरूले सराङ्गानी, दाभाओ ओक्सिडेन्टल, तावी–तावी र सुलु लगायत नौ प्रान्तका बासिन्दालाई तत्काल सुरक्षित स्थान वा उच्च भूभागतर्फ जान आग्रह गरेका छन्।
यसैबीच, इन्डोनेसियाका उत्तरी सुलावेसी, गोरोंतलो प्रान्त र साङ्गीहे टापुहरूमा पनि सुनामी चेतावनी जारी गर्दै बासिन्दालाई उच्च स्थानमा जान निर्देशन दिइएको छ। जापान, फिलिपिन्स र इन्डोनेसियाका अधिकारीहरूले समुद्री क्षेत्रमा खतरनाक छालाको जोखिमबारे चेतावनी जारी गरेका छन्।
अमेरिकास्थित प्रशान्त सुनामी चेतावनी केन्द्रले प्रारम्भिक रूपमा एक मिटरसम्मका छालहरू फिलिपिन्सका तटीय क्षेत्रमा पुग्न सक्ने र इन्डोनेसिया तथा मलेसियाका केही भागमा पनि जोखिम रहने जनाएको छ।
जापानको मौसम विज्ञान एजेन्सीका अनुसार पहिलो सुनामी लहरहरू फिलिपिन्स र इन्डोनेसियामा स्थानीय समयअनुसार बिहान करिब १० बजे पुग्नसक्ने अनुमान गरिएको छ। त्यसपछि दक्षिणी जापान, ताइवान, माइक्रोनेसिया, पपुवा न्यू गिनी र सोलोमन टापुहरूमा समेत प्रभाव पर्न सक्ने चेतावनी दिइएको छ।
अमेरिकी राष्ट्रिय सुनामी चेतावनी केन्द्रले भने उक्त भूकम्पले संयुक्त राज्य अमेरिकाको तटीय क्षेत्रमा कुनै ठूलो खतरा नरहेको जनाएको छ। यद्यपि जापानका केही दक्षिणी टापुहरूमा सुनामी चेतावनी कायम राखिएको छ।
उत्तरी मारियाना टापु र गुआममा पहिले जारी गरिएको चेतावनी हटाइए पनि समुद्री धार र खतरनाक समुद्री अवस्था कायम रहन सक्ने बताइएको छ।












