‘सफाइ पाउनेमा आशावादी छु, पुनः गृहमन्त्री बने २ महिना तस्बिर खिच्न नआउनु’
‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला,’ उनले भने।
गोरखा, जेठ २४ : पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको खुलासा गरेका छन्।
रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशन सत्रलाई सम्बोधन गर्दै सांसद गुरुङले सार्वजनिक पदमा रहँदा उठेका सवालहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको बताए।
‘मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ। बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु,’ अधिवेशनलाई सम्बोधन गर्दै उनले भने।
उनले छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै आफूले पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको बताए।
आफू निर्दोष सावित हुने र सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पिने सम्भावनाप्रति सङ्केत गर्दै गुरुङले एउटा फरक आग्रह समेत राखे।
‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला,’ उनले भने।












