ओमानलाई हराउँदै नेपाल एसियन गेम्स छनाेटकाे फाइनलमा
आइतबार बिहान सिंगापुरस्थित सिंगा ओभलमा भएको खेलमा ओमानमाथि ८ विकेटको जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो।
काठमाडाैं, जेठ २४ नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा प्रवेश गरेको छ।
आइतबार बिहान सिंगापुरस्थित सिंगा ओभलमा भएको खेलमा ओमानमाथि ८ विकेटको जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो।
अब नेपालले उपाधिका लागि मलेसिया र हङकङबीचको विजेतासँग खेल्ने छ। फाइनल भोलि दिउँसो १२ः१५ बजे हुनेछ।
ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।
नेपालका लागि लोकेश बमले सर्वाधिक रन ४४ बनाउँदा, रोहित पौडेल २१ र कुशल भुर्तेलले २० रन बनाए। बलिङमा ओमानका समीर ओथमनले २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको ओमान २ बल बाँकी छँदै ९४ रनमा समेटियो। उसका कप्तान सुफ्यान मेहमुदले ४२ बलमा ३८ रन बनाउँदा जुबिर अल बालुसीले १४ बलमा २२ र अब्दुल जलिलले १६ रन बनाए। अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि करण केसीले ४ ओभरमा २० रन मात्र खर्चेर ३ विकेट लिए। यस्तै, सन्दीप लामिछानेले ४ ओभरमा १९ रन मात्र खर्चेर २ विकेट लिँदा सोमपाल कामीले पनि २ विकेट लिए। दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र साहब आलमसले समान १ किवेट लिए।












