Kathmandu Press

‘राजनीतिक शक्तिहरूको डर नै दुर्गा प्रसाईं हो’

उनले विगतमा आफूले पुष्पकमल दाहाल र केपी शर्मा ओलीलाई एक ठाउँमा ल्याएर दुई कम्युनिस्ट पार्टीबीच एकता गराएको स्मरण गर्दै त्यसबाट देशले राजनीतिक स्थिरता, सुख, शान्ति र समृद्धिको बाटो समात्ने अपेक्षा गरेको बताए ।
‘राजनीतिक शक्तिहरूको डर नै दुर्गा प्रसाईं हो’

काठमाडौं, जेठ २२ : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा।धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ।

शुक्रबार बृहत राष्ट्रवादी एकता कायम गरी नयाँ राजनीतिक शक्ति निर्माण गर्ने उदेश्यका साथ दुर्गा प्रसाईँको अध्यक्षतामा राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको हो।

उक्त कार्यक्रममा बोल्दै राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले समसामयिक राष्ट्रिय विषय, आगामी सहकार्य तथा एकताबारे धारणा सार्वजनिक गरेका छन्।

Hardik ivf

पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले नेपालका प्रमुख राजनीतिक दलहरू तथा तिनका नेताहरूमाथि तीव्र आलोचना गरे। उनले विगतमा आफूले पुष्पकमल दाहाल र केपी शर्मा ओलीलाई एक ठाउँमा ल्याएर दुई कम्युनिस्ट पार्टीबीच एकता गराएको स्मरण गर्दै त्यसबाट देशले राजनीतिक स्थिरता, सुख, शान्ति र समृद्धिको बाटो समात्ने अपेक्षा गरेको बताए । तर, ती आशा पूरा नभएको दाबी गर्दै उनले दुवै नेतामाथि स्वार्थ केन्द्रित राजनीति गरेको आरोप लगाए।

‘मैले हिजोका दिनमा माओवादीको प्रचण्ड, एमालेका खड्कप्रसाद ओलीलाई राखेर मिलाएको थिए। यही ठाउँमा राखेर दुई कम्युनिस्ट पार्टी एक भयो भने देशले निकास पाउँछ, नेपाली जनताले सुख, शान्ति र अमन चयनको श्वास फेर्छन् भन्ने ठूलो आशा गरेको थिए । तर भएन । दुईवटै दलाल निस्किए, दुईवटै व्यापारी निस्किए । देशमा कम्युनिस्ट नै रहेनछ । खाली कमाउने मात्र रहेछन्,’ उनले भने।

प्रसाईंले नेपाली कांग्रेसमाथि पनि कटाक्ष गर्दै उक्त पार्टी सामन्तवादी प्रवृत्तिको रहेको टिप्पणी गरे। साथै, वर्तमान राजनीतिक दलहरूबाट देशको विकास सम्भव नरहेको निष्कर्षमा आफू पुगेको बताए।

‘कांग्रेसको त कुरै छाडिदिऊँ उसको जातै हो। कांग्रेस पार्टी भनेको सामन्तेहरुको पार्टी हो, क्लब जस्तो हो । कहिले महिला घुमाउने, दारु खाने, तास खेल्ने भनेको कांग्रेसको रगतमै पर्छ । कांग्रेसलाई गाली गर्नु बेकार हो । तर त्यो त कम्युनिस्टमा सरेर पनि विग्रियो,’ उनले भने।

राजसंस्था पुनस्र्थापनाका लागि आफूले विभिन्न प्रयास गरेको उल्लेख गर्दै प्रसाईंले झापाको मेची किनारसम्म पूर्वराजालाई लैजाने क्रममा प्रमुख राजनीतिक दलहरूबाट अवरोध भएको आरोप लगाए।

उनले राजेन्द्र लिङ्देनप्रति पनि असन्तुष्टि व्यक्त गर्दै राप्रपाले धर्म र राजसंस्थाको मुद्दा चुनावी लाभका लागि मात्र प्रयोग गरेको आरोप लगाए।

अर्को प्रसंगमा प्रसाईंले आफ्नो अभियानका क्रममा पटक–पटक आक्रमण, विरोध र कानुनी कारबाहीको सामना गर्नुपरेको बताए। उनले आफू १४ पटक जेल बसेको दाबी गर्दै विभिन्न शक्ति केन्द्रहरूले आफूलाई निशाना बनाएको आरोप लगाए। 

उनले पूर्व प्रधानमन्त्री केपी ओली, सुशीला कार्की तथा अहिलेका प्रधानमन्त्री बालेन्द्र शाहको नाम उल्लेख गर्दै आफूविरुद्ध विभिन्न कदम चालिएको दाबी गरे।

 ‘अगाडि बढ्दै गर्दा हामीलाई पटक पटक प्रहार गरियो । धावा बोलियो, कालो मोसो दलियो । म १४ पटक त जेल बसे । केपी ओलीले मात्र होइन, सुशीला कार्की र अहिले आएर बालेनले पनि हाल्यो । सबैभन्दा ठूलो लक्ष्य के हो दुर्गा प्रसाईंलाई प्रकाउ नगरिकन केही हुँदैन । डर नै दुर्गा प्रसाईं हो,अरु होइन,’ उनले भने।

प्रसाईंले आफ्नो गिरफ्तारीलाई केही पक्षहरूको प्रमुख लक्ष्य बनाइएको आरोप लगाउँदै आफू अझै प्रभावशाली रहेको दाबीसमेत गरे।

प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, जेठ २२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्