वातावरण संरक्षण हामी सबैको साझा जिम्मेवारी : भीष्मराज आङ्देम्बे
नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएको उल्लेख गर्दै उनले हिमाल, पहाड, तराई, नदी, वन तथा जैविक विविधताको संरक्षण गर्दै विकास र वातावरणबीच सन्तुलन कायम गर्नु आजको आवश्यकता भएको बताएका छन्।
काठमाडौं, जेठ २२ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विश्व वातावरण दिवसको अवसरमा स्वच्छ, हराभरा र दिगो वातावरण निर्माणका लागि सबै नागरिकलाई सामूहिक प्रयास गर्न आह्वान गरेका छन्।
दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै शुक्रबार उनले वातावरण संरक्षण केवल प्रकृतिप्रतिको दायित्व मात्र नभई वर्तमान र भावी पुस्ताप्रतिको साझा जिम्मेवारी भएको बताएका छन्।
आङ्देम्बेले जलवायु परिवर्तन, वन विनाश, जैविक विविधताको ह्रास तथा प्रदूषणजस्ता चुनौतीले विश्व समुदायलाई गम्भीर असर पारेको उल्लेख गर्दै यस्ता समस्याको समाधानका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताएका छन्।
नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएको उल्लेख गर्दै उनले हिमाल, पहाड, तराई, नदी, वन तथा जैविक विविधताको संरक्षण गर्दै विकास र वातावरणबीच सन्तुलन कायम गर्नु आजको आवश्यकता भएको बताएका छन्।
‘विकास निर्माणका गतिविधि सञ्चालन गर्दा वातावरणीय प्रभावलाई न्यूनतम बनाउँदै दिगो विकासका सिद्धान्तलाई आत्मसात् गर्न हामी सबै प्रतिबद्ध हुनुपर्छ,’ उनले भने।
उनले प्रकृतिप्रतिको उत्तरदायित्व स्मरण गराउँदै वातावरणमैत्री जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
आङ्देम्बेले घर, समुदाय र कार्यक्षेत्रबाटै वातावरण संरक्षण अभियानलाई सशक्त बनाउन सरकार, निजी क्षेत्र तथा सबै सरोकारवालालाई आग्रह गर्दै स्वच्छ र सुरक्षित भविष्य निर्माणका लागि प्रतिबद्ध हुन आह्वान गरेका छन्।











