पार्टी सदस्यताको गुणस्तरमा सम्झौता गर्दा राम्रो नतिजा आउँदैन : विष्णु पौडेल
‘पार्टीका सदस्यहरु पार्टीको विचार, विश्लेषणसँग जानकार छन्, उनीहरु संगठित छन्, अनुशासित छन्, उनीहरु क्रियाशील छन् र लक्ष्यप्रति समर्पित छन् भने त्यस्तो पार्टीले प्रगती गर्छ । पार्टी सदस्यताका प्रश्नमा हामीहरु चुक्यौं भने यसको गुणस्तरमा हामीहरु चुक्यौं भने आकारमा ठूलो भए पनि नतिजा राम्रो हुन सक्दैन,’ उनले भने।
काठमाडौं, जेठ २० : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी सदस्यताको विषय कम्युनिस्ट पार्टी निर्माणको आधारभूत र निर्णायक पक्ष भएको बताएका छन्।
नेकपा एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित सदस्यता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशालामा बोल्दै उनले पार्टीको प्रगति सदस्यहरूको वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन, सक्रियता र लक्ष्यप्रतिको समर्पणमा निर्भर रहने बताए।
उनले पार्टी सदस्यहरू विचार र विश्लेषणप्रति जानकार, संगठित, अनुशासित, क्रियाशील तथा लक्ष्यप्रति समर्पित भए मात्रै पार्टीले सफलता हासिल गर्ने उल्लेख गरे। सदस्यताको गुणस्तरमा कमजोरी आए पार्टीको आकार ठूलो भए पनि अपेक्षित नतिजा प्राप्त गर्न नसकिने उनको भनाइ थियो।
‘पार्टीका सदस्यहरु पार्टीको विचार, विश्लेषणसँग जानकार छन्, उनीहरु संगठित छन्, अनुशासित छन्, उनीहरु क्रियाशील छन् र लक्ष्यप्रति समर्पित छन् भने त्यस्तो पार्टीले प्रगती गर्छ । पार्टी सदस्यताका प्रश्नमा हामीहरु चुक्यौं भने यसको गुणस्तरमा हामीहरु चुक्यौं भने आकारमा ठूलो भए पनि नतिजा राम्रो हुन सक्दैन,’ उनले भने।
पौडेलले कम्युनिस्ट आन्दोलनमा पार्टी सदस्यतालाई अत्यन्त महत्वका साथ हेरिने परम्परा रहेको बताउँदै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका क्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान दिएका व्यक्तिहरूले समेत सदस्यता प्राप्त गर्न नसकेका उदाहरणहरू रहेको स्मरण गराए।
त्यसैले सदस्यता प्राप्तिको विषयलाई पार्टी निर्माणको आधारभूत र निर्णायक महत्वको विषयका रूपमा लिनुपर्ने उनले बताए।
‘पार्टी सदस्यता प्राप्त गर्ने विषयलाई कम्युनिस्ट पार्टीमा सर्वाधिक महत्वको विषय मानिन्छ। दुनियाँमा यस प्रकारका अनुभवहरु छन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा यस प्रकारका अनुभवहरु पनि छन् कि विभिन्न विधामा अत्यन्त प्रशंसनिय र उच्च महत्वको योगदान गरेका व्यक्तिहरुले पार्टी सदस्यता चाहँदा प्राप्त गर्न नसकेका अनुभवहरु पनि छन्,’ उनले भने, ‘यसकारण हामीले पार्टी सदस्यताको प्रश्नलाई अत्यन्तै महत्वको पार्टी निर्माणको आधारभूत र निर्णयक महत्वको विषय हो भन्ने कुरा हामीले मान्दै आइरहेका छौं।’
उपाध्यक्ष पौडेलले पार्टी सदस्यताको प्रश्न केवल प्राविधिक विषय नभई राजनीतिक, वैचारिक र सैद्धान्तिक विषयसमेत भएको धारणा राखे। पार्टी सदस्यलाई विचार र राजनीतिसँग जोडेर मात्रै संगठन निर्माणलाई हेर्नुपर्ने उनको भनाइ थियो।
‘पार्टी सदस्यताको प्रश्न यो केवल प्राविधिक प्रश्न मात्र होइन, यो राजनीकित प्रश्न पनि हो। यो वैचारिक सैद्धान्तिक प्रश्न हो । पार्टी सदस्यलाई एउटा विचारसँग, राजनीतिसँग जोडेर मात्रै पार्टी संस्थाको विषयलाई हामीले हेर्नुपर्दछ जस्तो मलाई लाग्दछ। पार्टी निर्माणसँग, पार्टीको विचार सिद्धान्त र यसका मूल्य मान्यताहरु पनि एकअर्कामा जोडिएका हुन्छन्,’ उनले भने।
उनले पार्टी निर्माण, विचार–सिद्धान्त तथा पार्टीका मूल्य–मान्यता एकअर्कासँग अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै सदस्यता विस्तार र नवीकरणको प्रक्रियामा यी पक्षलाई विशेष ध्यान दिनुपर्ने बताए।












