वीरगन्जका मेयर सिंहलाई रिहा गर्न अदालतको आदेश
पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लेखत सम्बन्धी कसुर मुद्दामा चार लाख रुपैयाँ तथा झुटा विवरण पेश गरी नागरिकता दिलाएको मुद्दामा १५ हजार रुपैयाँ धरौटी माग गरेको हो।
पर्सा, जेठ १९ : झुटा विवरण पेशगरी अर्काकी छोरीलाई नागरिकता र राहदानी दिलाएको अभियोगमा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लेखत सम्बन्धी कसुर मुद्दामा चार लाख रुपैयाँ तथा झुटा विवरण पेश गरी नागरिकता दिलाएको मुद्दामा १५ हजार रुपैयाँ धरौटी माग गरेको हो।
मंगलबार बिहान पर्सा जिल्लाको ठोरी गाउँपालिकाबाट पक्राउ परेका मेयर सिंहलाई प्रहरीले सोही दिन जिल्ला न्यायाधिवक्ता ९सरकारी वकिल० कार्यालयमा बयानका लागि उपस्थित गराएको थियो।
सरकारी वकिल कार्यालयमा बयान दर्ता भएपछि दिउँसो अदालतको इजलास नम्बर १ मा थुनछेक बहस भएको थियो।
वादी तथा प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीहरूको बहस सुनेपछि मुख्य न्यायाधीश रेग्मीले मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको पर्सा जिल्ला अदालतका सूचना अधिकारी जयनारायण यादवले जानकारी दिए।
उनका अनुसार अदालतले मेयर सिंहलाई ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। उक्त रकम नगद वा कानुनबमोजिमको जमानत दाखिला गरेपछि उनलाई आजै रिहा गर्न इजलासबाट आदेश जारी भएको छ।
सूचना अधिकारी यादवका अनुसार मेयर सिंहका तर्फबाट धरौटी रकम नगदै जम्मा गर्ने जानकारी अदालतलाई गराइएको छ।












