प्रधानमन्त्रीको बचाउमा शिक्षामन्त्रीले भने– प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिनुभएको छैन
भारत–नेपाल संयन्त्रले नेपालले पनि भारतको भूमि मिचेको भनेको र त्यसबारे आफू आश्चर्य भएको विषयमा प्रधानमन्त्रीले भनाइ राखेका बताउँदै प्रवक्ता पोखरेलले प्रधानमन्त्रीको बताउ गरे।
काठमाडौं, जेठ १९ : प्रधानमन्त्री बालेन शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति नदिएको जिकिर शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले गरेका छन्।
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो जिकेर गरेका हुन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुको प्रश्नको जाफव दिँदै प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको जग्गा मिचेको र दुई देशबीच बसेर समस्या समाधान गरिनुपर्ने अभिव्यक्ति दिएका छन्। प्रधानमन्त्रीको सो अभिव्यक्तिको सदनदेखि सडकसम्म विरोध भइरहेको छ।
भारत–नेपाल संयन्त्रले नेपालले पनि भारतको भूमि मिचेको भनेको र त्यसबारे आफू आश्चर्य भएको विषयमा प्रधानमन्त्रीले भनाइ राखेका बताउँदै प्रवक्ता पोखरेलले प्रधानमन्त्रीको बताउ गरे।
‘प्रधानमन्त्रीज्यूले के भन्नुभएको हो भने, सीमा विवादसम्बन्धी काम अगाडि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदा आफू अचम्मित परेको बताउनुभएको हो । उहाँले सदनमा पनि यही प्रसंग उल्लेख गर्नुभएको थियो,’ उनले भने, ‘यस विषयमा परराष्ट्र मन्त्रालयले समेत आफ्नो स्पष्टीकरण दिइसकेको छ । दुई देशबीच आवश्यक संयन्त्रहरू गठन भइसकेका छन् । कतिपय स्थानमा भारतले उपभोग गरिरहेको भूमि नेपालतर्फ पर्न सक्ने र नेपालले उपभोग गरिरहेको भूमि भारततर्फ पर्न सक्ने भन्ने विषय ती संयन्त्रहरूबाट उठेका छन् । यस्ता विषयमा दुई देश बसेर आपसी छलफलमार्फत विवाद समाधान गर्नुपर्छ भन्ने प्रधानमन्त्रीज्यूको धारणा हो। प्रधानमन्त्रीज्यूले विवाद सिर्जना हुने खालको कुनै अभिव्यक्ति दिनुभएको होइन। उहाँले यस्तो कुरा आउँदा म अचम्मित परेँ भन्ने सन्दर्भमा मात्र आफ्नो धारणा व्यक्त गर्नुभएको हो । त्यसैले प्रधानमन्त्रीज्यूले सदनमा व्यक्त गर्नुभएको भनाइलाई एकपटक पुनः सुन्नु उपयुक्त हुन्छ।’
मन्त्री पोखरेलले प्रधानमन्त्रीको उक्त भनाइबारे परराष्ट्र मन्त्रालयले जानकारी गराइसकेको बताउँदै भूमिसम्बन्धी सीमा विवाद समाधानका निम्ति गठित संयन्त्रका आधारमा प्रधानमन्त्रीले धारणा राखेका उनले जिकिर गरे।
सीमा समस्या समाधानका निम्ति भारतलाई ‘कूटनीतिक नोट’ पठाइसकिएको उनले बताए। दुई देशबीचका सीमा विवाद ‘टेबल टक’मार्फत समाधान गरिने उनले स्पष्ट पारे।












