नेपालले भारतको सीमा कहाँ मिचेको छ जानकारी गराउन माग
‘नेपाल भारत सीमा विवाद छन्। तर प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिच्यो भन्नुभयो। कहाँनेर मिचिएको हो छिटोभन्दा छिटो अवगत गराउन पर्यो । यो कुन विषय हो? यो गम्भीर र आपत्तिजनक विषय हो,’ उनले भनिन्।
काठमाडौं, जेठ १७ : प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको विषयमा प्रमुख प्रतिपक्षी कांग्रेस र नेकपाले जवाफ माग गरेको छ।
नेपालले कहाँ भारतको जग्गा मिचेको छ भन्ने जानकारी कांग्रेस र नेकपाले संसद्बाट नै माग गरेको हुन्।
कांग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे स्पष्ट पार्न माग गरिन्। नेकपाका सांसद रमेश मल्लले संसदको रोष्ट्रमबाट प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक भएको बता ।
‘नेपाल भारत सीमा विवाद छन्। तर प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिच्यो भन्नुभयो। कहाँनेर मिचिएको हो छिटोभन्दा छिटो अवगत गराउन पर्यो । यो कुन विषय हो? यो गम्भीर र आपत्तिजनक विषय हो,’ उनले भनिन्, ‘प्रधानमन्त्रीले तथ्य बिना दुई देश सीमाबारे बोलेको कुरा सही होइन भने रेकर्डबाट हटाइयोस् भन्ने माग गर्न चाहन्छु।’
यस्तै, नेकपाका सांसद रमेश मल्लले मुलुकको सार्वभौम सत्ता र राष्ट्रिय अखण्डताका मूलभूत सिद्धान्तविपरीत प्रधानमन्त्री बोलेको बताए।
‘मुलुकको राष्ट्रिय अखण्डताको विषयमा आँच आउने खालको अभिव्यक्ति सम्माननीय प्रधानमन्त्रीले जसरी एउटा जिम्मेवारी व्यक्ति जिम्मेवार सदनको रोष्ट्रमबाट जो कुरा व्यक्त गर्नुभएको छ यो सामान्य विषय छैन,’ मल्लले भने, ‘उहाँले अनौपचारिक कुराकानीमा राखेको विषयवस्तु जस्तो सम्झनुभयो कि जस्तो मलाई लागेको छ। यो कुरा धेरै नै गम्भीर छ । कुनै मुलुकका सरकार प्रमुख, राष्ट्र प्रमुखहरूले मञ्चमा बसेर हामीले फलानो देशको भूमि मिचेका छौं भन्छन् होला? यो कति गम्भीर विषय छ?’
मल्लले पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसद्को तर्फबाट सच्याउन पर्ने र संसद्को रेकर्डबाट हटाउन सभामुखसँग माग गरे ।












