पहिलो वर्ष सुशासनमा केन्द्रित, भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं, जेठ १७ : प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको पहिलो वर्षलाई ‘सुशासनको वर्ष’ का रूपमा अघि बढाइएको र भ्रष्टाचार तथा बेथिति अन्त्य गर्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा रास्वपका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले उठाएको प्रश्नको जवाफ दिँदै विकास निर्माणलाई रोकिने नभइ सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने सरकारको नीति रहेको स्पष्ट पारे।
उनको अनुसार सरकारको पहिलो वर्षमा राज्यका विभिन्न निकायमा देखिएका बेथिति, अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गर्ने लक्ष्य राखिएको छ।
‘हाम्रो पार्टीका मन्त्री र सभापतिले मुख्य प्राथमिकता सुशासन हो भन्दै आउनुभएको छ। पहिलो वर्षलाई सुशासनको वर्ष भनेको छौँ। त्यो भनेको विकास गर्दैनौँ भनेको होइन । तर यो वर्षलाई सरकार र मान्य सांसदको निगरानीमा पनि विभिन्न निकाय र पालिका निकाय छन्। पहिलो वर्ष सुशासन, बेथितिलाई हटाउने, बलियो जरा बनाएर बसेको भ्रष्टाचारलाई निर्मुल गर्न सरकार र पार्टी तत्पर छ। विभिन्न कार्यालय, कम्पनी रजिस्ट्रार कार्यालय, मालपोत, यातायातमा जाँदा पनि देख्नुभएको छ होला त्यसलाई निरन्तरता दिन्छौं,’ उनले भने।
प्रमुख सचेतक बुर्लाकोटीले सुशासनको दृष्टिबाट केही अघिसम्म सरुवा–बढुवामा घुस नखाइ नहुने अवस्था रहेको सरकार बनेपछि त्यो कुरा चिरिएको भन्दै सरकारले यसरी नै काम गर्न लागेको छ भनेर प्रस्ट्याइदिन प्रधानमन्त्रीलाई अनुरोध गरेका थिए।
उनले भनेका थिए,‘संसदमा जवाफ दिन आइदिनुभएकोमा प्रधानमन्त्रीप्रति सम्मान व्यक्त गर्छु । आम नागरिकले अद्भूत जनमत दिएर पठाएकोमा आम नागरिकलाई धन्यवाद। सुशासनको दृष्टिबाट केही अघिसम्म सरुवा बढुवा घुस नखाइ नहुने अवस्था थियो । यो सरकार बनेपछि त्यो कुरा चिरियो । आम जनमत सुशासन र समृद्धिका लागि हो भन्नेमा दुई मत छैन । सरकारले यसरी नै काम गर्न लागेको छ भनेर प्रस्ट्याइदिन हुन अनुरोध गर्दछु,’












