पिएसजीले डिफेन्ड गर्यो च्याम्पियन्स लिग उपाधि, आर्सनल फेरि उपविजेतामै समीति
शनिबार राति हंगेरीको बुडापेस्टमा भएको फाइनलमा इंग्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ले पराजित गर्दै पिएसजीले उपाधि रक्षा गरेको हो।
काठमाडाैं, जेठ १७ : फ्रेन्च क्लब पीएसजीले लागतार दोस्रो पटक च्याम्पियन्स लिग उपाधि जितेको छ।
शनिबार राति हंगेरीको बुडापेस्टमा भएको फाइनलमा इंग्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ले पराजित गर्दै पिएसजीले उपाधि रक्षा गरेको हो।
योसँगै पिएसजी उपाधि रक्षा गर्ने रियल मड्रिडपछि दोस्रो टिम बनेको छ। रियलले सन् २०१६ देखि २०१८ सम्म लगातार तीन पटक उपाधि जितेको थियो।
यता, आर्सनले भने २० वर्षपछि फाइनल पुगेपछि पहिलो उपाधिबाट बञ्चित भएको हो। सन् २००६ मा को फाइनलमा ऊ बार्सिलोनासँग २–१ले पराजित भएको थियो।
फाइनल निर्धारित र अतिरिक्त समयमा १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टीमा पुगेको थियो।
पेनाल्टीमा आर्सनलका ग्याब्रियल मांगालहेस र इबेरेची ऐजे पेनाल्टीमा चुके। दुवैको प्रहार बाहिरिएको थियो। उसका भिक्टर ग्योकेरेस, गेग्लन रइस र ग्याब्रिअल मार्टिनेलीले गोल गरेका थिए।
यता, पिएसजीका गोन्सोलो रामोस, डिजायर डुए, अर्चरफ हाकिमी र लुकास बेलार्डोले गोल गर्दा नुनो मेन्डेसको प्रहार आर्सनलका गोलकिपर डेविड रायाले रोकेका थिए।
मुख्य प्रशिक्षक लुइस एनरिकको नेतृत्वमा पीएसजीले पछिल्ला ६ वटा पेनाल्टी सुटआउटमा शतप्रतिशत जितको कीर्तिमान कायम राखेको छ।
खेलमा अग्रता भने आर्सनलले लियो। पाँचौं मिनेटमा काइ हाभर्ट्जले काउन्टरमा उत्कृष्ट गोल गर्र्दै आर्सनलाई अग्रता दिलाएका थिए। योसँगै उनी दुई च्याम्पियन्स लिग फाइनलमा गोल गर्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि उनले सन् २०२१मा चेल्सीका लागि गोल गरेका थिए। यसअघि मारियो मान्जुकिच र क्रिस्टियानो रोनाल्डोले पनि दुई फाइलनमा गोल गरेका थिए।
तर, दोस्रो हाफमा पिएसजी खेलमा फर्कियो। ६४औं मिनेटमा उसमान डेम्बेलेले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेलमा ७२ प्रतिशत बल पेजेशन बनाएर पिएसजीले आर्सनलमाथि दबाब कायम गरेकको थियो।












