मदिरादेखि सवारीसाधनको कर बढ्दै, गोदामबाट रक्सी र चुरोट उठाउँदै व्यापारी
काठमाडौं, जेठ १५ : अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न वस्तुहरुमा करको दर बढाउने भएका छन्। सरकारको बजेट घोषणासँगै उ....

काठमाडौं, जेठ १५ : अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न वस्तुहरुमा करको दर बढाउने भएका छन्। सरकारको बजेट घोषणासँगै उपभोक्ताले बिहीबार राति १२ बजेदेखि मदिरा, चुरोट, सूर्तिजन्य पदार्थमा महंगो शुल्क तिर्नु पर्ने भएको हो।
मदिरा, चुरोट, सूर्तिजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक वस्तुमा अन्तः शुल्क वृद्धि गर्न लागिएको हो। यस्तै, साधारण पेय पदार्थहरु कोक, फेन्टा, पेप्सी, मिश्रित चकलेट, पर्फ्यूम, खेलौना तथा रेफ्रिजेरेटर जस्ता वस्तुको आयात तथा आन्तरिक उत्पादनमा समेत अन्तशुल्क बढाइएको अर्थ मन्त्रालय स्रोतको दाबी छ।
सवारीसाधन अन्तर्गत चार पांग्रे गाडीहरुमा पनि अन्तः शुल्क वृद्धि गरिएको छ। मुख्यगरी एक हजार सीसीभन्दा माथिका चार पांग्रे सवारीसाधनमा अन्तः शुल्क वृद्धि गरिएको बुझिएको छ। त्यसमा पनि ५० लाखभन्दा बढी मूल्यको सवारीमा झनै अन्तः शुल्कमा भारी वृद्धि गर्ने र आयातलाई बजेटमार्फत निरुत्साहित गर्ने तयारी गरिएको अर्थ मन्त्रालय स्रोतको दाबी छ।
‘महँगा गाडीलाई आयात नै रोक्ने भन्ने छलफल भएपनि रोक्ने भन्दा पनि अन्तः शुल्क भारी वृद्धि गर्ने लागेका हाैं,’ अर्थमन्त्रालय स्रोतले भन्यो। यता मोटरसाइकलमा पनि अन्तः शुल्क वृद्धि गर्न लागिएको छ। १ सय ५० सीसीभन्दा माथिका क्षमता भएका मोटरसाइकलमा अन्तः शुल्क वृद्धि गर्न लागिएको बुझिएको छ। गत वर्ष पनि अन्तः शुल्क बढाइएको थियो।
यस्तै, मदिरा तथा सूर्तिजन्य पदार्थमा पनि अन्तः शुल्क वृद्धि गरिँदै छ। बिहीबार राति १२ बजेबाट लागू हुने गरी चुरोटको उत्पादन र पैठारीमा प्रतिखिल्ली ५० पैसाका दरले स्वास्थ्य जोखिम कर लगाउने तयारी गरिएको छ।
धमाधम रक्सी र चुरोट गोदामबाट उठाउँदै व्यापारी
सरकारले मदिरा र सूर्तिजन्य वस्तुमा भारी कर वृद्धि गर्न लागेपछि काठमाडौंसहित ठूला शहरका गोदामबाट व्यापारीहरुले रातारात समान उठाउन थालेका छन्। सरकारले मदिरामा कर बढाउने सुइँको पाएपछि अधिकांश व्यापारीले रक्सीको स्टक बढाएका छन्।
सरकारले बजेटमार्फत मदिरामा कर बढाउने सुइको पाएसँगै व्यवसायीले सस्तोमा किनेर महँगो मूल्यमा बेच्न व्यापारीले मदिराको स्टक बढाएका हुन्। लकडाउनका कारण व्यापार नभएको मदिरा स्टक बढाएपछि बुधबारदेखि नै व्यापारीले गोदामबाट सामान धमाधम उठाइरहेको एक व्यवसायीले जानकारी दिए।
आजै रातिबाट कर बढ्ने बित्तिकै मदिराको मूल्य पनि बढ्ने भएकाले सस्तोको सामान उठाएर नाफा कमाउन व्यापारीले स्टक बढाएका हुन्।











