जब श्रीमान्ले १३ वर्षदेखि यातना दिएर आत्महत्या गर्न बाध्य बनाए...
काठमाडौं, जेठ १५ : श्रीमानकाे यातनाका कारण कैलालीकी ३५ वर्षीया महिलाले आत्महत्या गरेको खुलेको छ। दुई महिना अघि विदेशबाट फर्किएका श्रीमानले निरन्तर यात....

काठमाडौं, जेठ १५ : श्रीमानकाे यातनाका कारण कैलालीकी ३५ वर्षीया महिलाले आत्महत्या गरेको खुलेको छ। दुई महिना अघि विदेशबाट फर्किएका श्रीमानले निरन्तर यातना दिएका कारण ती महिलाले आत्महत्या गरेको परिवारको आरोप छ।
उनको परिवारले विवाहको केही समयपछि नै श्रीमान भक्त भण्डारीले मानसिक एंव शारिरिक यातना दिँदै आएको जनाएका छन्। गत मंगलबार विष सेवन गरेर सरिता भण्डारीले आत्महत्या गरेकी थिइन्। बहिनीले आत्महत्या गरेपछि दाजु झम्कर बहादुर विष्टले डर, त्रास देखाएर आत्महत्या गर्न बाध्य बनाएको भन्दै कैलालीस्थित मोतिपुर इलाका प्रहरी कार्यालयमा मृतकका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेका छन्।
विष्टले दिएको जाहेरीमा १३ वर्ष अघि उनीहरुको परम्परा अनुरुप नै मागी विवाह भएको थियो। तर दुई सन्तान भइसक्दा पनि भक्तबहादुरले बारम्बार श्रीमती मन नपरेको र अर्कै विवाह गर्न इच्छा भएको भन्दै यातना दिँदै आएको जाहेरीमा उल्लेख छ। भक्तबहादुरको यातना सहन नसकेकै कारण गत मंगलबार बिहान सरिताले आत्महत्या गरेको परिवारको दावी छ।
‘बहिनीको दुई सन्तान भइसक्दा पनि उनीहरुको पारिवारीक सम्बन्ध राम्रो थिएन। अर्को केटी बिहे गर्न बहिनीलाई मरे हुन्छ सम्म भनेको थियो,’ विष्टले दिएको किटानी जाहेरीमा भनिएको छ, ‘विदेशमा हुन्जेल पनि फोनमा बहिनीलाई नानाथरी भन्दै मानसिक तनाव दिने गरेको थियो।’
प्रहरीले भण्डारीलाई लिएर अनुसन्धान थालेको छ। ‘बुधबार (जेठ१४ गते) जाहेरी दर्ता भएको छ। आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको छ। हामीले अनुसन्धान सुरु गरेका छौं,’ इलाका प्रहरी कार्यालय मोतीपुरका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र चन्दले भने ‘आरोपितलाई पक्राउ गर्न अदालतमा अनुमती माग्ने प्रक्रिया सुरु भएको छ। अदालतको अनुमती पाएलगत्तै आरोपितलाई हिसारतमा लिएर आवश्यक अनुसन्धान गर्छौं।’











