स्वास्थ्य मन्त्री निशा मेहता स्वदेश फिर्ता
मन्त्री मेहताले अब महासभामा पारित भएका नीतिहरू र नेपालले गरेका प्रतिबद्धताहरूलाई राष्ट्रिय स्वास्थ्य नीतिसँग जोडेर कार्यान्वयनमा लैजाने बताइन्।
काठमाडौं, जेठ १३ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता ७९औँ विश्व स्वास्थ्य सभामा सहभागिता भई आज स्वदेश फर्किएकी छन्। मन्त्री मेहता स्विट्जरल्यान्डको जेनेभामा आयोजित ७९औँ विश्व स्वास्थ्य सभामा आफ्नो सफल सहभागिता र सम्बोधन सम्पन्न गरी आज स्वदेश फर्किएकी हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी मन्त्री मेहतालाई मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका थिए। मे १८ देखि २३, २०२६ सम्म जेनेभामा सञ्चालन भएको यस वर्षको महासभा नेपालका लागि निकै ऐतिहासिक र उपलब्धिमूलक रहेको छ।
सभाको उपाध्यक्षमा निर्वाचित: यस ७९औँ विश्व स्वास्थ्य सभामा मन्त्री निशा मेहतालाई सभाको उपाध्यक्षका रूपमा निर्वाचित गरिएको थियो । यो नेपालको स्वास्थ्य कूटनीति र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बढ्दो उपस्थितिका लागि ठूलो सम्मान हो।
प्रभावकारी सम्बोधनस् महासभालाई सम्बोधन गर्ने क्रममा मन्त्री मेहताले नेपालको स्वास्थ्य क्षेत्रका प्राथमिकताहरू, महामारीको पूर्वतयारी, विश्वव्यापी स्वास्थ्य संरचनामा पहुँच र समानताको विषयमा नेपालको स्पष्ट धारणा राखेकी थिइन्।
जलवायु र स्वास्थ्यः उनले जलवायु परिवर्तनले नेपालजस्ता पर्वतीय र विकासशील राष्ट्रहरूको जनस्वास्थ्यमा पारेको गम्भीर असरबारे विश्व समुदायको ध्यानाकर्षण गराएकी थिइन्।
द्विपक्षीय तथा बहुपक्षीय छलफलस् सम्मेलनको दौरान मन्त्री मेहताले विश्व स्वास्थ्य संगठनका उच्च अधिकारीहरू तथा विभिन्न सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रीहरूसँग द्विपक्षीय वार्ता गर्दै नेपालको स्वास्थ्य प्रणालीको सुदृढीकरण र प्राविधिक सहयोग आदानप्रदानका विषयमा महत्त्वपूर्ण छलफल गरेकी थिइन्।
नयाँ सरकार गठन भएपश्चात् अन्तर्राष्ट्रिय मञ्चमा मन्त्री मेहताको यो पहिलो उच्चस्तरीय प्रतिनिधित्व हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यस भ्रमणलाई नेपालको स्वास्थ्य क्षेत्रको अन्तर्राष्ट्रिय सहकार्यमा एक महत्त्वपूर्ण फड्को मानेको छ।
मन्त्री मेहताले अब महासभामा पारित भएका नीतिहरू र नेपालले गरेका प्रतिबद्धताहरूलाई राष्ट्रिय स्वास्थ्य नीतिसँग जोडेर कार्यान्वयनमा लैजाने बताइन्।












