असार १५ देखि २० गते सम्मका लागि केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको निर्णय
आइतबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै एमाले उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकले असार १५ देखि २० सम्मको लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको जानकारी दिए ।
काठमाडौं, जेठ ११ : नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा चार दिनसम्म चलेको सचिवालय बैठक हिजो (आइतबार) सम्पन्न भएको हो ।
आइतबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै एमाले उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकले असार १५ देखि २० सम्मको लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको जानकारी दिए ।
उनले भने, ‘केन्द्रीय समितिको बैठक आगामी अब यो असार १५ देखि २० को बीचमा अध्यक्ष र महासचिवको बीचमा सरसल्लाह गरेर तय हुनेछ ।’ बैठकले रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन र पार्टी पुनर्गठनसम्बन्धी समीक्षा सुधारका लागि समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेश र स्थानीय तहको बजेट सम्बन्धमा प्रदेशले नीतिहरू ल्याइसकेको हुनाले जुन बजेट ल्याउने क्रम छ त्यसलाई केन्द्रीय कार्यालयबाट विशेषज्ञहरूको छनोट गरेर हरेक प्रदेशमा बजेट निर्माणमा सहयोग पु¥याउन विज्ञलाई पठाउने निर्णय गरेको छ ।
उनले भने, ‘प्रदेश र स्थानीय तहको बजेट सम्बन्धमा प्रदेशले नीतिहरू ल्याइसकेको छ । त्यो बारेमा छलफल गर्न आवश्यक छैन । बजेट जो ल्याउने क्रम छ, केन्द्रीय कार्यालयबाट विशेषज्ञहरूको छनोट गरेर हरेक प्रदेशमा बजेट निर्माणमा सहयोग पुर्याउन विज्ञलाई पठाउने भन्ने छ ।’
उनका अनुसार पार्टीभित्र जुन खालको एकता र भाव पैदा भएको छ त्यो भावले फेरि उत्साह आम पार्टी पङ्क्तिमा र जनतामा त्यो पैदा हुन्छ भन्ने विश्वास छ ।












