Kathmandu Press

नेपाल–भारत सीमा सुरक्षा मजबुत बनाउन सुरक्षा अधिकारीहरू प्रतिवद्ध

बैठकमा भारत–नेपाल सीमा क्षेत्रमा कानुन व्यवस्था सुदृढ बनाउने, सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउने तथा दुई देशबीच आपसी समन्वयलाई थप मजबुत पार्ने विषयमा विस्तृत छलफल भएको थियो।
नेपाल–भारत सीमा सुरक्षा मजबुत बनाउन सुरक्षा अधिकारीहरू प्रतिवद्ध

रौतहट, जेठ १०  : भारत–नेपाल अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत बनाउन तथा सीमापार हुने आपराधिक गतिविधिहरूमाथि प्रभावकारी नियन्त्रण गर्ने उद्देश्यले दुवै देशका सीमावर्ती सुरक्षा पदाधिकारीहरूको उच्चस्तरीय बैठक सम्पन्न भएको छ।

विहारको सीतामढीस्थित समाहरणालयको विमर्श सभाकक्षमा ‘इन्डो–नेपाल बोर्डर डिष्ट्रीक्ट समन्वय समिति’ को यो महत्वपूर्ण बैठक बसेको हो।

Hardik ivf

बैठकमा भारत–नेपाल सीमा क्षेत्रमा कानुन व्यवस्था सुदृढ बनाउने, सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउने तथा दुई देशबीच आपसी समन्वयलाई थप मजबुत पार्ने विषयमा विस्तृत छलफल भएको थियो।

विशेषगरी जाली नोटको कारोबार, अवैध हतियार तस्करी, लागूऔषध ओसारपसार, मदिरा, सुर्तीजन्य पदार्थ तथा अन्य प्रतिबन्धित सामग्रीको सीमापार तस्करी नियन्त्रणका लागि संयुक्त रणनीति अपनाउने विषयमा बैठकले विशेष जोड दिएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए।

उनका अनुसार दुवै देशका सुरक्षा अधिकारीहरूले सीमा अपराध नियन्त्रणका लागि सम्भावित कारबाही अघि बढाउने, मोस्ट वान्टेड अपराधीहरूलाई पक्राउ गर्ने, शंकास्पद व्यक्ति तथा विदेशी नागरिकहरूको अवैध आवतजावत रोक्ने र आपसी सूचना आदान–प्रदानलाई तीव्र बनाउँदै संयुक्त सुरक्षा अभियानलाई थप प्रभावकारी बनाउने सहमति गरेका छन्।

यसका साथै बैठकमा मानव बेचबिखन, लागूऔषध तस्करी, सीमा क्षेत्रमा हुने अतिक्रमण, बोर्डर पिलर (सीमा स्तम्भ) को सुरक्षा तथा नो म्यान्स ल्याण्ड (दशगजा) अतिक्रमण जस्ता गम्भीर विषयहरूमा पनि सघन छलफल भएको थियो। सीमावर्ती क्षेत्रमा सक्रिय असामाजिक तत्व तथा आपराधिक समूहहरू विरुद्ध निरन्तर संयुक्त अभियान सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ।

सीमा क्षेत्रमा शान्ति, सुरक्षा र सौहार्दपूर्ण वातावरण कायम राख्नका लागि सीमावर्ती प्रहरी चौकी तथा सुरक्षा निकायहरूलाई पूर्ण सतर्कता अपनाउन निर्देशन दिइएको छ।

सानोतिनो घटनालाई समेत गम्भीरतापूर्वक लिएर तत्काल कानुनी कारबाही अघि बढाउन र आपसी सहयोग, विश्वास तथा समन्वयलाई अझ मजबुत बनाउन दुवै पक्षका अधिकारीहरू सहमत भएका छन्।

प्रकाशित मिति: १४:३७ बजे, आइतबार, जेठ १०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्