ट्याक्सी व्यवसायमा सिण्डिकेट रहेको महाविर पुनको दाबी
‘म ट्याक्सी चालकहरुको कुरा राख्न चाहन्छु। जसले ट्याक्सी चलाइरहेको छ उनीहरु भनेको श्रमिक नै हो। उनीहरुले आफ्नो परिवार पाल्न ट्याक्सी व्यवसाय गरेको हो। ट्याक्सीमा हिँड्दा मैले के थाहा पाए भने एउटा ट्याक्सी ट्याक्सी किन्नको लागि सरकारले २५० देखि ३०० प्रतिशत कर लगाएको छ,’ उनले भने।
काठमाडौं, जेठ ७ : स्वतन्त्र सांसद महाविर पुनले ट्याक्सी व्यवसायमा देखिएको कर र ‘कालो प्लेट’ प्रणालीमा चलखेल भएको आरोप लगाउँदै त्यसलाई तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनले ट्याक्सी चालकहरू श्रमिक वर्गका नागरिक भएकाले उनीहरूलाई अनावश्यक आर्थिक भार थोपारिएको बताए। उनले ट्याक्सी चालकहरूले परिवार पाल्नका लागि ट्याक्सी व्यवसाय गरिरहेको उल्लेख गर्दै सरकारले ट्याक्सी खरिदमा २५० देखि ३०० प्रतिशतसम्म कर लगाएको दाबी गरे।
‘म ट्याक्सी चालकहरुको कुरा राख्न चाहन्छु। जसले ट्याक्सी चलाइरहेको छ उनीहरु भनेको श्रमिक नै हो। उनीहरुले आफ्नो परिवार पाल्न ट्याक्सी व्यवसाय गरेको हो। ट्याक्सीमा हिँड्दा मैले के थाहा पाए भने एउटा ट्याक्सी ट्याक्सी किन्नको लागि सरकारले २५० देखि ३०० प्रतिशत कर लगाएको छ,’ उनले भने।
सांसद पुनका अनुसार ट्याक्सी किन्दा लाग्ने कर बाहेक ‘कालो प्लेट’ अर्थात् ट्याक्सी लाइसेन्स प्लेट लिनकै लागि करिब १५ लाख रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको छ।
‘ट्याक्सी चालकहरुलाई अझै कर के थप रहेछ भने त्यो ट्याक्सीको लाइन्सेन्स प्लेट लिनको लागि १५ लाख रुपैयाँ कालो प्लेट लिनको लागि त्यसमा ट्याक्सीको पैसा त छुट्टै भयो । कालो प्लेट लिनको लागि १५ लाख लाग्ने रहेछ । यसमा चलखेलको कुरा छ,’ उनले भने।
उनले उक्त व्यवस्थामा चलखेल र सिण्डिकेट रहेको आरोप लगाउँदै सरकारलाई यसबारे गम्भीर अध्ययन गर्न आग्रह गरे।
‘यसमा चलखेलको कुरा छ, सिण्डिकेटको कुरा छ। त्यसैले यो चलखेललाई बुझेर तुरुन्त खारेज गरियोस्,’ उनले भने।
सांसद पुनले ट्याक्सी चालकहरूलाई सहज वातावरणमा व्यवसाय सञ्चालन गर्न नीतिगत सुधार आवश्यक रहेको समेत बताए।