कर्णालीको विद्युत् आपूर्ति प्रभावित भएपछि मन्त्री श्रेष्ठद्वारा तत्काल मर्मत र छानबिनको निर्देशन
घटनाप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ ले चासो व्यक्त गर्दै मर्मत तथा छानबिन कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
काठमाडौं, वैशाख ३० : बाँकेको चिसापानी क्षेत्रमा नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनका दुई वटा टावर ढल्दा कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेको छ।
घटनाप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ ले चासो व्यक्त गर्दै मर्मत तथा छानबिन कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
मन्त्री श्रेष्ठको सचिवालयले सम्बन्धित कार्यालयहरूसँग समन्वय गर्दै क्षतिग्रस्त टावर पुनर्निर्माण गरी विद्युत् सेवा सुचारु गर्न पहल गरिरहेको जनाएको छ। हावाहुरीका क्रममा रुख ढल्दा दुई वटा १३२ केभी क्षमताका टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।
घटनापछि नेपाल विद्युत् प्राधिकरणले ग्रिड अप्रेसन प्रमुख रमणराज शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। प्राधिकरणका अनुसार क्षतिग्रस्त टावर निर्माणको जिम्मेवारी आर एस इन्फ्रा कम्पनीले लिएको थियो।
प्रारम्भिक विवरणअनुसार टावरको फाउन्डेसन नै पुनःनिर्माण गर्नुपर्ने अवस्था देखिएको छ। मर्मत तथा पुनःस्थापनाको काम सम्पन्न गर्न करिब तीन साता लाग्ने अनुमान गरिएको प्राधिकरणले जनाएको छ । १३२ केभी प्रसारण लाइन अवरुद्ध भएपछि कर्णाली प्रदेशमा विद्युत् आपूर्ति कायम राख्न वैकल्पिक रूपमा पुरानो ३३ केभी प्रसारण लाइनमार्फत सीमित विद्युत् सेवा सुरु गरिएको छ । तर उक्त लाइनको क्षमता कम भएकाले प्रदेशभर विद्युत् सेवा प्रभावित भइरहेको बताइएको छ।
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन कर्णाली प्रदेशको दीर्घकालीन विद्युत् समस्या समाधान गर्ने लक्ष्यसहित निर्माण गरिएको महत्त्वपूर्ण पूर्वाधार आयोजना हो।












