गणतन्त्रलाई थप सुदृढ तुल्याउन राष्ट्रपतिको आह्वान
काठमाडौं, जेष्ठ १५ : १३ औँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजु....

काठमाडौं, जेष्ठ १५ : १३ औँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेकी छिन् ।
गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका सम्पूर्ण राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता एवं आम जनताको योगदानको उच्च प्रशंसा गर्दै उनले गणतन्त्रलाई थप सुदृढ तुल्याउन हार्दिक आह्वान समेत गरिन् । अपार जनसहभागितामा सञ्चालित ऐतिहासिक जनआन्दोलनको परिणामस्वरुप स्थापित जननिर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै राष्ट्रपति भण्डारीले प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउँदै आए पनि यस वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिका कारण औपचारिक कार्यक्रम आयोजना गर्न कठिनाइ उत्पन्न भएको उल्लेख गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले नोबल कोरोना भाइरसको सङ्क्रमणमा परी स्वदेश तथा विदेशमा अमूल्य जीवन गुमाउने सवै नेपालीहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सोकसन्तप्त परिवारजनमा समवेदना प्रकट समेत गरिन् ।
यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले कोभिड–१९ नियन्त्रणका लागि तीन तहको सरकारले गरिरहेको कार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति थप गौरव गर्ने वातावरण बनेको बताए ।
गणतन्त्र दिवस–२०७७ ले हाम्रो राष्ट्रियताको रक्षा तथा सुदृढीकरण र कोरोना भाइरस रोकथामका लागि राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास पुनले लिएका छन् ।











