Kathmandu Press

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

एसइई २०८२ मा काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयबाट तीन हजार १९८ जना (७६.७५ प्रतिशत) विद्यार्थी ग्रेडेड भएका कामपाले जनाएको छ ।
एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडौँ, वैशाख ३० : काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन् ।  

एसइई २०८२ मा काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयबाट तीन हजार १९८ जना (७६.७५ प्रतिशत) विद्यार्थी ग्रेडेड भएका कामपाले जनाएको छ । कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार यस वर्ष परीक्षामा सामेल ६० वटा विद्यालयमध्ये केन्द्रीय बहिरा माध्यमिक विद्यालय, श्रम राष्ट्रिय माध्यमिक विद्यालय, बाल व्यवसायी माध्यमिक विद्यालय र बाल सेवा माध्यमिक विद्यालयले शत्प्रतिशत नतिजा हासिल गरेका छन् । 

Hardik ivf

परीक्षामा सहभागी चार हजार १६७ जना विद्यार्थीमध्ये चार जिपिए प्राप्त गर्ने २८ जना विद्यार्थी छन् । उनीहरूमध्ये ज्ञानोदय माध्यमिक विद्यालयका २१ जना, तरुण माविका एक जना, शिवपुरी माविका एक जना, विश्व निकेतन माविका तीन जना र रत्नराज्य माविका दुई जना विद्यार्थी छन् । गएको वर्ष १७ जनाले चार जिपिए प्राप्त गरेका थिए । 

गएको वर्ष चार हजार ८५ जना परीक्षार्थीमध्ये तीन हजार १०९ जना (७६.०८ प्रतिशत) ग्रेडेड थिए । यस वर्ष ८२ जना बढी विद्यार्थी परीक्षामा सहभागी भए । गएको वर्षभन्दा यो वर्ष ०।६७ प्रतिशत बढी विद्यार्थी ग्रेडेड भएका ढकालले जानकारी दिए ।  

उनीहरूमध्ये ३.६ देखि चार जिपिए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या ५४३ जना छ । ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या एक हजार चार जना, २.८ देखि ३.२ जिपिए ल्याउने एक हजार १५३ जना, २.४ देखि २.८ जिपिए ल्याउने ४६९ जना, २.० देखि २.४ जिपिए ल्याउने १४ जना छन् । 

यसमा गएको वर्ष क्रमशः ७७४ जना, एक हजार १५६ जना, ९०२ जना, २४६ जना र १४ जना थियो । यो नतिजा हेर्दा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या वृद्धि भइरहेको र तल्लो तहको जिपिए प्राप्त गर्ने विद्यार्थीहरूको सङ्ख्या घट्दै गएको छ । यो नतिजा सुधारका कोणबाट सकारात्मक सुधार हो । 

गएको वर्ष ९७६ जना ‘नटग्रेडेड’ थिए । यस वर्ष ९६९ जना नटग्रेडेड छन् ।  परीक्षामा देखिएको यो नतिजालाई शिक्षा विभागले सूक्ष्म विश्लेषण गरेर सुधारलाई प्रोत्साहन र नियमित नकारात्मक नतिजा प्राप्त गर्ने विद्यालयलाई नकारात्मक सूचीमा राखिने ढकालको भनाइ छ । 

प्रकाशित मिति: ०८:१२ बजे, बुधबार, वैशाख ३०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्