प्रधानमन्त्रीले गिनिज बुकमा नाम लेखाउने प्रयास गर्नुभयो : कांग्रेस
‘हिजोको उहाँको व्यवहरले जनताको मन कुँडिएको छ । देशको शिर झुकेको छ। यो सदनको गरिमा र ईज्जतमा दाग अनुभूति हामीलाई भएको छ,’ उनले भने।
काठमाडौं, वैशाख २९ : नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीबीचमा उठेर हिँड्नुले रेकर्ड राख्न खोजेको टिप्पणी गरेका छन्। उनले संसारमा यस्तो नदेखिएको बताए।
‘आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइरहँदा संसारको कुन देशको प्रधानमन्त्री बिचैमा उठेर हिँडे ? भनेर ञगिनिज बुकझ मा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ,’ उनले भने, ‘यस्तो रेकर्ड राख्न लागेकोमा म उहाँलाई बधाई दिउँ कि दुस्ख व्यक्त गरौं, सभामुख महोदय? सामाजिक संजालमा लाखौंले लेखेजस्तो अमर्यादित व्यवहार प्रधानमन्त्रीले देखाउनु भयो भनेर म सोझै भन्न चाहन्न– यस्तो पनि हुन सक्छ, कि अचानक उहाँको स्वास्थ स्थिति गम्भीर बनेकोले उहाँ हिँड्नु भएको होला!’
उनले प्रधानमन्त्री अस्वस्थ भएर हिँडेको खबर सुनिएको बताउँदै प्रधानमन्त्री अस्वस्थ भए चाडोभन्दा चाडो स्वास्थ्य परीक्षणको जानकारी गराइयोस् भन्ने माग राखे।
‘म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थमा अचानक कुनै प्रतिकुल अवस्था बनेको हो भने, भएको के हो अविलम्ब स्वास्थ परिक्षण गरेर संसदलाइ जानकारी गराइयोस्,’ उनले भने।
उनले प्रधानमन्त्रीले अहंकार र मर्यादाहिन व्यवहार प्रदर्शन गर्नु दुर्भाग्य भएको बताए। ‘हिजोको उहाँको व्यवहरले जनताको मन कुँडिएको छ । देशको शिर झुकेको छ। यो सदनको गरिमा र ईज्जतमा दाग अनुभूति हामीलाई भएको छ,’ उनले भने।












