Kathmandu Press

सुरक्षाका कारण मलेरियाविरूद्ध प्रयोग हुने औषधिको परीक्षण विश्व स्वास्थ्य संगठनले रोक्यो

काठमाडौं, जेठ १५: कोभिड १९ को सम्भावित उपचारको रूपमा हाइड्रोक्सीक्लोरिक्विनको क्लिनिकल परीक्षण अस्थायी रूपमा स्थगित गरिएको विश्व स्वास्थ्य संगठनले सोम....

सुरक्षाका कारण मलेरियाविरूद्ध प्रयोग हुने औषधिको परीक्षण विश्व स्वास्थ्य संगठनले रोक्यो
फाइल

काठमाडौं, जेठ १५: कोभिड १९ को सम्भावित उपचारको रूपमा हाइड्रोक्सीक्लोरिक्विनको क्लिनिकल परीक्षण अस्थायी रूपमा स्थगित गरिएको विश्व स्वास्थ्य संगठनले सोमबार जनाएको छ।

थुप्रै देशमा यसलाई रोकथामको उपायको रूपमा प्रयोग गरिएको छ। गएको साता द लान्सेट जर्नलले सो औषधिले कोभिड १९ बिरामीको मृत्यु हुने सम्भावना बढाउनसक्ने अध्ययनको नतिजा छापेको थियो।

त्यसैको आधारमा हाइड्रोक्सीक्लोरिक्विनको प्रयोग अस्थायी रूपमा स्थगित गिरएको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोमघे ब्रेसेयसले बताए। कथित सोलिडारिटी ट्रायलको कार्यकारी समूहले सावधानीका कारण सो औषधिको परीक्षण स्थगन गरेको टेड्रोसले बताए। समूह अन्तर्गत विभिन्न देशका सयौं अस्पतालले नोभेल कोरोनाभाइरसको थुप्रै सम्भावित उपचारको परीक्षण गर्न बिरामी भर्ना गरेका छन्।

Hardik ivf

“कार्यकारी समूहले सोलिडारिटी ट्रायल अन्तर्गत हाइड्रोक्सीक्लोरिक्विनको प्रयोग अस्थायी रूपमा रोकेको छ। डाटा सेफ्टी मनिटरिङ बोर्डले सुरक्षाको डाटा मुल्याङ्कन गरिरहेको छ,” टेड्रोसले भने,“अन्य परीक्षण भने चालु छ।”

हाइड्रोक्सीक्लोरिक्विन सामान्यतया आर्थराइटिसको उपचारका लागि प्रयोग गरिन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पजस्ता सार्वजनिक व्यक्तित्वले सो औषधि ठूलो परिमाणमा खरिद गर्न सरकारलाई उक्साएका छन्। गएको साता ट्रम्पले पनि यहि औषधि प्रयोग गरिरहेको घोषणा गरेका थिए। गएको साता ब्राजिलका स्वास्थ्यमन्त्रीले पनि हाइड्रोक्सीक्लोरिक्विनको प्रयोग गर्न सुझाव दिएका थिए। कोभिड १९ को सामान्य बिरामीलाई समेत औलोविरूद्ध प्रयोग गरिने क्लोरोक्विन प्रयोग गर्न उनले सिफारिश गरेका थिए।

लान्सेटको अध्ययनमा दुवै औषधीले मुटुको धड्कनको अनियमितता हुने “हार्ट एरिदमिया” लगायत गम्भीर दुष्प्रभाव हुनसक्ने निष्कर्ष छ। दुवै औषधिले कोभिड १९ कै कारण अस्पताल भर्ना भएका बिरामीलाई कुनै फाइदा नपुगेको पनि लान्सेटकै एउटा अध्ययनमा उल्लेख छ। सो अध्ययनमा सयौं अस्पतालका ९६ हजार बिरामी सहभागी थिए। टेड्रोसले सोमबार दुवै औषधि सामान्यतया अटोइम्युन रोग वा औलोका बिरामीका लागि सुरक्षित मानिने बताए।

विश्व स्वास्थ्य संगठनले साथ दिएकोसोलिडारिटी ट्रायलले क्लोरोक्विन नभएर मात्रै हाइड्रोक्सीक्लोरिक्विनको प्रभावलाई ध्यान दिएको संगठनका प्रमुख वैज्ञानिक सौम्य स्वामिनाथनले सोमबार बताइन्। हाइड्रोक्सीक्लोरिक्विनको प्रयोग हुने परीक्षणका लागि बिरामी भर्ना गर्ने निर्णय अस्थायी भएको उनले बताइन्। “हामीले मात्रै सावधानी अपनाएका हौं,” विश्व स्वास्थ्य संगठनको इमर्जेन्सी प्रमुख माइकल रायनले भने।

पोहोर चीनदेखि सुरू भएको कोभिड १९ महाव्याधिले विश्वभरि झण्डै साढे तीन लाखको ज्यान लिएको छ। करिब ५५ लाख संक्रमित छन्। नोभेल कोरोनाभाइरसको प्रमाणित उपचार वा खोप अहिलेसम्म उपलब्ध छैन। तर बन्दाबन्दीमा रहेको आधा संसारले थुप्रै देशमा संक्रमण फैलिने क्रमलाई रोकथाम गरेका पनि छन्। बिस्तारै धेरै देशले बन्दाबन्दी खुलाउँदै छन्। विश्व स्वास्थ्य संगठनले भौतिक दुरी कायम राख्न र स्वास्थ्य परीक्षणलाई बढाउन आवश्यक भएकोमा सोमबार जोड दिएको छ।

“संक्रमितको संख्या घट्दै गए पनि सबै देशले उच्च सतर्कता अपनाउनुपर्छ,” विश्व स्वास्थ्य संगठनकी विशेषज्ञ मारिया भान कर्खोभले बताइन्। एन्टीबडीको प्रयोग गरेर संक्रमितको संख्या र रोग प्रतिरोधी क्षमता पत्ता लगाउन गरिएका अध्ययनले जनसंख्याको ठूलो अनुपात जोखिममा रहेको देखाउने उनले बताइन्।

“भाइरस सकेसम्म फैलिने कोशिसमा हुन्छ,” उनले भनिन्। संक्रमण कम गर्न र तत्काल बढ्न नदिन एउटा वृहत रणनीतिलाई निरन्तरता दिनुपर्ने रायनले बताए। मौसमसँगै महाव्याधि नहराउने उनले चेतावनी दिएका छन्। विभिन्न देशमा संक्रमण फैलिन नदिन अपनाइएका उपायले नै संक्रमण दर घट्दै गएकोमा उनले जोड दिए।
 

प्रकाशित मिति: ०६:४९ बजे, बिहीबार, जेठ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्