भ्रष्टाचार आरोप प्रमाणित गर्न चुनौती दिन्छु, प्रमाणित भए सिंगो राजनीतिक जीवनबाट बिदा लिन्छु ः सांसद खरेल
उनले आफूमाथिको आरोप प्रमाणित गर्न खुलारुपमा चुनौती पनि दिए। आरोप प्रमाणित भए राजनीतिक जीवनबाट बिदा लिने घोषणा गर्दै उनले प्रमाणित गर्न नसके पत्रिका बन्द गर्न सक्ने हिम्मत छ? भन्ने चुनौती पनि दिए।
काठमाडौं, वैशाख २८ : रास्वपा सांसद तथा पूर्वमन्त्री जगदीश खरेलले आफूविरुद्ध लगाइएको भ्रष्टाचार आरोप पुष्टि गर्न चुनौती दिएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद खरेलले स्मार्ट टेलिकमको प्रकरणमा जोडिएर आफूले एउटा बैठक, फाइल पारित गर्ने कुनै काम नगरेको दाबी गरे।
आफूविरुद्ध स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा जोडिएको भन्दै भ्रामक समाचारहरू प्रकाशित भएको उनले बताए।
उनले आफूमाथिको आरोप प्रमाणित गर्न खुलारुपमा चुनौती पनि दिए। आरोप प्रमाणित भए राजनीतिक जीवनबाट बिदा लिने घोषणा गर्दै उनले प्रमाणित गर्न नसके पत्रिका बन्द गर्न सक्ने हिम्मत छ? भन्ने चुनौती पनि दिए।
‘म खुला रुपमा चुनौती दिन चाहन्छु कि यो प्रमाणित गर, प्रमाणित गर्न सक्दैनौं भने पत्रकारिताको जीवनबाट पत्रिका बन्द गर्न सक्ने हिम्मत छ?,’ उनले भने, ‘म चुनौती दिन चाहन्छु, स्मार्ट टेलिकम प्रकरणमा मैले एउटा मिटिङ, फाइल पारित गर्ने, मन्त्रालय वा सम्बद्ध कुनै निकायसँग एउटा बैठक मात्रै गरेको रहेछु भने मैले मेरो राजनीतिक जीवनबाट सधैं बिदा लिन चाहन्छु।’
उनले भ्रामक समाचार प्रकाशित गरेर आफ्नो मान, सम्मान, राजनीतिक जीवन तथा पार्टीको पनि अमपमान गरिएको बताए।
‘स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा मलाई जोडेर सुटुक्क स्वीट्जरल्याण्ड भागे भनेर लेखिएको समाचार यति निरर्थक, भ्रामक र सी ग्रेडको पत्रकारिता पनि भन्न नसुहाउने हिसाबमा जसरी समाचार प्रकाशित गरियो,’ खरेलले भने, ‘यसले मेरो मान, सम्मान, इज्जत, राजनीतिक जीवन, समग्र संसद् र मेरो पार्टीभित्र अपमान गरेको महसुस गरेको छ । यो संसद्मा रेकर्ड रहोस् भनेर यसको खेद र भर्त्सना गर्न चाहन्छु ।’












