‘अदालतबाट न्यायलाई हाँसोको विषय नबनाइयोस्’
‘प्रधानन्यायाधीश सिफारिस परम्पराभन्दा बाहिर गयो, असंवैधानिक भनियो। कसरी ६÷६ जना सिफारिस गरियो रु ६ जनाको साटो वरिष्ठतम् हुने भनिएको भए सोझै हुनेथियो नि, संवैधानिक परिषद्को आवश्यकता नै पर्दैनथ्यो,’ उनले भने।
काठमाडौं, वैशाख २८: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतले न्यायलाई हाँसोको विषय नबनाउन आग्रह गरेका छन्।
रास्वपाको दुई दिने प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले आम नागरिकले सहज र वास्तविक न्याय पाउनुपर्नेमा जोड दिएका हुन्।
प्रधानन्यायाधीश सिफारिस प्रक्रियाबारे टिप्पणी गर्दै लामिछानेले परम्पराभन्दा बाहिर गएर गरिएको निर्णयलाई असंवैधानिक भनिएको प्रसंग उठाए। वरिष्ठताका आधारमा मात्रै नियुक्ति गर्ने हो भने संवैधानिक परिषद्को आवश्यकता नै नपर्ने उनको तर्क थियो।
‘प्रधानन्यायाधीश सिफारिस परम्पराभन्दा बाहिर गयो, असंवैधानिक भनियो। कसरी ६÷६ जना सिफारिस गरियो रु ६ जनाको साटो वरिष्ठतम् हुने भनिएको भए सोझै हुनेथियो नि, संवैधानिक परिषद्को आवश्यकता नै पर्दैनथ्यो,’ उनले भने।
लामिछानेले न्याय प्रणालीमाथि जनविश्वास कायम रहनुपर्ने भन्दै अदालतलाई पनि जिम्मेवार बन्न आग्रह गरे।
‘चुनौतिपूर्ण अभिव्यक्ति दिएर के लाभ हुन्छ र? त्यो त जग हसाइ मात्र हो। हामी जग हसाइमा विश्वास गर्दैनौँ। मेरो कुरा गर्नुहुन्छ भने गर्धन अझै त्यहीँ छ । रिस उठेको छ भने चलाइदिनुस् हतियार। त्यहीं बुझाएर आएको छु गर्धन,’ उनले भने, ‘अदालतले पनि यसलाई सडकको बिषय, हाँसोको विषय नबनाओस् । आम नागरिकलाई कसरी न्याय दिन सकिन्छ भन्नेमा मध्यनजर गर्दै कागजमा बन्दी मात्र नहोस् न्याय।’
लामिछानेले पछिल्लो राजनीतिक अवस्थालाई ‘इतिहासकै सजिलो क्रान्ति’को संज्ञा दिँदै जनताले दिएको अवसरलाई परिणाममा बदल्न नसके आफूहरू असफल सावित हुने बताए। उनले व्यवस्था परिवर्तनभन्दा अवस्था परिवर्तनको अभियान अझ ठूलो र चुनौतीपूर्ण भएको उल्लेख गरे।
‘इतिहासको सजिलो क्रान्ति हो। बालबच्चा सकुशल छन्, डाइनिङ टेबलमा तातो खाना कुरिरहेको हुन्छ, वाहवाही छ, अन्तर्वार्ता दिन विभिन्न स्टुडियोमा भ्याइनभ्याइ छ,’ उनले भने, ‘यति क्रान्तिलाई पनि दिन सकिएन भने तपाईँ हामी नालायक भएर निस्कन्छौँ । व्यवस्था बदल्ने मात्र क्रान्ति होइन, अवस्था बदल्ने क्रान्ति पनि ठूलो क्रान्ति हो । हाम्रो हातमा जनताले त्यो शक्ति दिएका छन्।’
उनले पार्टीभित्र मन्त्री वा अन्य जिम्मेवारी नपाउँदा केही असन्तुष्टि हुनु स्वाभाविक भएको बताए। तर सांसदका रूपमा देशको इतिहास बदल्ने अवसर कुनै मन्त्री वा समितिको सभापतिभन्दा पनि ठूलो रहेको उनको भनाइ थियो।
लामिछानेले पार्टी ठूलो बन्दै जाँदा मतभेद र विवाद देखिनु स्वाभाविक भए पनि त्यसलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्नुपर्ने बताए । विशेषगरी सार्वजनिक अभिव्यक्ति, सामाजिक सञ्जालका पोस्ट र व्यवहारप्रति सचेत हुन उनले नेता–कार्यकर्तालाई आग्रह गरे।
गलत गतिविधिले चोक–चिया पसलमा समेत रास्वपामाथि व्यंग्य हुने उल्लेख गर्दै उनले व्यवहारबाटै पार्टी फरक भएको प्रमाणित गर्नुपर्ने बताए।












