कम्युनिस्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशीहरू लागेको प्रचण्डका अरोप
संयोजक प्रचण्डले नेपालका कम्युनिष्ट पार्टीहरुले आफै भित्र पहिला समीक्षा गरेर सच्याउने र सिँगै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गरेर फेरि नयाँ ढंगले आन्दोलनमा जानुको विकल्प नरहेको बताए।
काठमाडौं, वैशाख २७ : नेपाली कम्युनिष्ट पार्टीका संयोजकपुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी लागिपरेको बताएका छन्।
२६औं निर्मल लामा स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सो तथ्यलाई स्वीकार गरेर अघि बढने आँट नेपालको कम्युनिस्ट आन्दोलनले नगरे श्रमजीवि जनताप्रति ठूलो घात गरेको ठहर्ने बताए।
‘कम्युनिस्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीकाे ठूलो डिजाइन छ, त्यसमा उनीहरू लागि परेका छन्,’ उनले भने।
संयोजक प्रचण्डले नेपालका कम्युनिष्ट पार्टीहरुले आफै भित्र पहिला समीक्षा गरेर सच्याउने र सिँगै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गरेर फेरि नयाँ ढंगले आन्दोलनमा जानुको विकल्प नरहेको बताए।
‘हजारौं र लाखौं कार्याकर्ताहरु पनि कम्युनिस्टहरुको बीचमा एकता होस् भन्ने पक्षमा छन्। ती प्रयासहरु पनि लिडरसिपको प्रयासबाट बेलामौकामा हुने पनि गरेका छन् । तर त्यो एकतालाई सुदृढ र दिगो बनाउनका वैचारिक बहस वा छलफल र निष्कर्ष आवश्यक छ । संगठनात्मक सिद्धान्त, नीति, विधिको विकासको काम भएको छैन् । परिणामतः ती एकताका प्रयासहरु विभिन्न रुपमा भएपनि ती दिगो र सफल हुन सकेनन्,’ उनले भने।
उनले वैचारिक बहस, छलफल र निष्कर्षमा पुग्ने प्रक्रिया तथा संगठनात्मक सिद्धान्त, नीति र विधिको विकास पर्याप्त रूपमा हुन नसक्दा एकता प्रयासहरू दिगो बन्न नसकेको बताए।
प्रचण्डले कम्युनिस्ट आन्दोलनभित्रका विगतका विभाजन र एकताका श्रृंखलाबाटै वर्तमान अवस्था बनेको उल्लेख गर्दै एकताको आवश्यकता भने अझै कायम रहेको स्पष्ट पारे। उनले कम्युनिस्ट आन्दोलनको एकता आवश्यक छैन भन्ने निष्कर्ष निकाल्नु गलत हुने बताए।
‘यो कुराले के कुरा निष्कर्ष निकाल्नु गलत हुन्छ भने कम्युनिस्ट आन्दोलनको एकताको आवश्यकता छैन भन्ने कुरा होइन । विभाजन र एकताका थुप्रै श्रृखलाहरु हुँदै जसरी कम्युनिस्ट आन्दोलन आजको विन्दुसम्म आएको छ,’ उनले भने, अन्तर्राष्ट्रिय रुपमा पनि ठूलाठूला विवाद र बहस विभाजन एवम एकताको श्रृखला हुँदै अगाडि बढेको छ । सच्चा कम्युनिष्टहरुको बीचमा एकताको आवश्यकता अहिले झन विशेष रुपले बढेको छ ।’












