Kathmandu Press

रुकुमपश्चिम हत्या काण्डबारे कांग्रेसले भन्यो - कानून हातमा लिनेलाई अविलम्ब कारवाही होस् 

काठमाडौं, जेठ १३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुमपश्चिम हत्या काण्डमा कानून हातमा लिनेहरुलाई अविलम्ब कारवाही गर्न माग गरेको छ। प्रवक्ता ....

रुकुमपश्चिम हत्या काण्डबारे कांग्रेसले भन्यो - कानून हातमा लिनेलाई अविलम्ब कारवाही होस् 

काठमाडौं, जेठ १३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुमपश्चिम हत्या काण्डमा कानून हातमा लिनेहरुलाई अविलम्ब कारवाही गर्न माग गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ती जारी गर्दै दोषिमाथि कारवाहीको मग गरेका हुन्। 

उनले  रुकुम पश्चिममा नृशंस हत्याकाण्ड भएको खबर लगत्तै नेपाली कांग्रेस केन्द्रीय कार्यालय निरन्तर रुकुमको पार्टी नेतृत्व, प्रशासन र स्थानीयसंग सम्पर्कमा रहेको बताउँदै गम्भीर घटनाले  केही गम्भीर प्रश्नहरु उब्जाएको बताएका छन्। घटनाको निष्पक्ष र गहिरो छानबिन गरेर कुनै मोलाहिजा बेगर दोषिलाई कडा कारवाही गर्न कांग्रेसले माग गरेको छ। 

यस्तै घटनाले सामाजिक विभेद र बिसंगती, राज्य प्रशासनको भूमिकामा र निष्पक्ष अनुसन्धान र दण्डको प्रश्न उब्जिएको कांग्रेसले जनाएको छ। ‘कानूनी रूपमा जातिय विभेद र छुवाछूतलाई दण्डनीय बनाइएको छ, तर नयाँ संविधानपछिको नेपालमा पनि अझै यस्ता घटना हुनु दुःखद छ,’ विज्ञप्तीमा भनिएको छ, ‘नेपाली कांग्रेसले रुकुमको घटनालाई दलित समुदाय माथिको हिंसाका रूपमा लिएको छ। प्रेम सम्बन्धमा जातिय प्रश्न खडा गरेर भएको हत्याको दोषिहरुलाई दण्डित गर्न नेपाली कांग्रेस माग गर्दछ।’
यस्तै लक डाउनका समयमा एक जिल्लाबाट अर्को जिल्लामा युवाहरूको समुह जाँदै गर्दा रोक्ने कार्य प्रशासनले गरेको भए सायद यस्तो अप्रिय घटना नघट्ने कांग्रेसले जनाएको छ। ‘राज्यको उपस्थिति न त्यसबेला देखियो न आक्रमणको घटना हुँदै गर्दा। नेपाली कांग्रेसले यो तथ्यलाई गम्भीरतापूर्वक लिएको छ र प्रशासन अनुपस्थिति उपर केन्द्रिय सरकारको धारणा माग गर्दछ,’ विज्ञप्तीमा उल्लेख छ। 

केही निश्चित मानिसले गरेको आक्रमणमा पुरै गाउँ समाजलाई बदनाम गराउने र दोषिलाई जोगाउने षड्यन्त्र हुनसक्ने संकेत मिलेको कांग्रेसले जनाएको छ। ‘जातिय विभेदको संकुचित मनोबिज्ञानले निहत्था युवाहरू माथि आक्रमणको कार्य गर्ने जो कोही हुन्, तिनलाई कुनै ढिलाइ नगरी गहन अनुसन्धानको प्रक्रिया पूरा गरेर कानूनत अधिकतम दण्ड दिन नेपाली कांग्रेस माग गर्दछ,’ विज्ञप्तीमा भनिएको छ, ‘घटनामा जीवन गुमाएका नवराज विक, टिकाराम सुनार र गणेश बुढा मगरको आत्माको शान्ति कामना गर्दै नेपाली कांग्रेस भेरी नदिमा बेपत्ता भएका भनिएका अन्य युवाको तदारुकता साथ खोजी गर्न नेपाल सरकार समक्ष आग्रह र माग गर्दछ । साथै घाइते युवाहरूको शिघ्र स्वास्थलाभको कामना गर्दछ।’

प्रकाशित मिति: १९:०५ बजे, मंगलबार, जेठ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्