सभामुख अर्यालले गरे प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल
सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अर्यालले सत्ता पक्ष र विपक्षमा रहेका दलहरूका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्न बैठक बोलाएका थिए।
काठमाडौं, वैशाख २१ : सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरेका छन्।
सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अर्यालले सत्ता पक्ष र विपक्षमा रहेका दलहरूका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्न बैठक बोलाएका थिए।
बैठकपछि नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रमुख सचेतक र सचेतकहरुलाई बोलाएर सभामुखले बधाई दिनको साथै संसदीय काम गर्दै जाँदा आफूहरुसँगको सहकार्यको भूमिकाको अपेक्षा व्यक्त गरेको जानकारी दिइन्।
बैठकमा समसामयिक राजनीतिक विषयमा कुनै छलफल नभएको उनले बताइन्।
‘प्रमुख सचेतक र सचेतकहरुलाई बोलाएर वधाई दिनुभयो। उहाँले संसदीय काम गर्दै जाँदा हामीसँग सहकार्यको भूमिकाको अपेक्षा गर्नुभयो । आज कुनै एजेण्डा थिएन । आफ्नो कार्यालय सञ्चालन कसरी गर्ने भन्ने विषयमा छलफल भयो,’ उनले भनिन्।
उनको अनुसार भोलिसम्म संसद बैठक कहिले बस्ने भन्ने विषयमा सूचना आउने छ। त्यस्तै सत्ता पक्ष राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले पनि सदनमा आफ्नो काम कारबाहीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको बताइन्।
अध्यादेशको विषयमा विपक्ष दलबाट आपत्तिजनक केही कुराहरु बैठकमा नउठेको उनले जानकारी दिए।












