Kathmandu Press

राजनीतिक स्थायित्वलाई आर्थिक समृद्धिको अभूतपूर्व अवसरका रूपमा उपयोग गर्नुपर्छ : अध्यक्षा ढकाल

स्वदेशी पुँजी परिचालन गर्न महासंघको अग्रसरतामा १० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको ’नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ कम्पनी स्थापना भई कार्य सुरु भइसकेको अध्यक्ष ढकालले बताए।
राजनीतिक स्थायित्वलाई आर्थिक समृद्धिको अभूतपूर्व अवसरका रूपमा उपयोग गर्नुपर्छ : अध्यक्षा ढकाल

काठमाडौं, वैशाख २१ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले हालको राजनितीक स्थायित्वलाई आर्थिक समृद्धिको अभुतपूर्व अवसरका रुपमा उपयोग गर्नुपर्ने बताएका छन्।

महासंघको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ६० वर्षको यो कालखण्डले साना, मझौला र ठूला सबै व्यवसायीलाई एउटै मञ्चमा जोड्दै राष्ट्रिय उद्यमशीलता र आर्थिक रूपान्तरणको मार्ग प्रशस्त गरेको ढकालको भनाई छ । कार्यक्रममा बोल्दै उनले भने, ‘वर्तमान राजनीतिक स्थायित्वलाई आर्थिक समृद्धिको अभूतपूर्व अवसरका रूपमा उपयोग गर्नुपर्छ।’

Hardik ivf

सरकारले महासंघको आग्रह बमोजिम निजी क्षेत्र प्रवद्र्धन एवं संरक्षण रणनीति (पिएसपीपी) पारित गरेकोमा आभार व्यक्त गर्दै यसले व्यवसायीलाई भौतिक र नीतिगत सुरक्षाको प्रत्याभूति दिने विश्वास व्यक्त गरिएको छ। नीतिगत सुधारका लागि सरकारले दोस्रो चरणको आर्थिक सुधार प्रक्रिया सुरु गर्नु र केही पुराना कानुन खारेजीको निर्णय गर्नुलाई महासंघले सकारात्मक कदम मानेको छ।

दोस्रो चरणको आर्थिक सुधारका लागि महासंघकै पहलमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भई कार्य अघि बढेको छ । बागलुङको ढोरपाटन बैठकबाट मार्गचित्र तयार पारिएको यो सुधार प्रक्रियाले कानुनी स्थायित्व, सदाचारको प्रवद्र्धन र प्रविधिको उच्चतम प्रयोगमा जोड दिएको छ । ‘राष्ट्रिय आर्थिक रूपान्तरण २०३०’ मार्फत कानुनको संशोधन र परिमार्जन गर्दै ऊर्जा, कृषि, खनिज र पर्यटन क्षेत्रको भरपूर सदुपयोग गर्ने लक्ष्य महासंघले राखेको छ।

स्वदेशी पुँजी परिचालन गर्न महासंघको अग्रसरतामा १० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको ’नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ कम्पनी स्थापना भई कार्य सुरु भइसकेको छ। यसले ४० देखि ५० अर्बसम्मका ठूला आयोजना सञ्चालन गर्न सक्ने र ’नेपालमा केही हुँदैन’ भन्ने नकारात्मक भाष्यलाई चिर्ने विश्वास लिइएको उनले बताए। 

वैदेशिक लगानी आकर्षित गर्न विभिन्न मुलुकमा बिजनेस समिटहरू आयोजना गरी सुशासन र प्रविधिको प्रयोगमार्फत लगानीकर्ताको विश्वास जित्ने प्रयास भइरहेको उनको भनाई थियो। 

मुलुकमा रोजगारीको समस्या गम्भीर रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले वार्षिक ७ लाख युवा कामको खोजीमा विदेशिनु पर्ने बाध्यतालाई चिर्नुपर्ने बताए। उनले निजी क्षेत्रले हाल ८६ प्रतिशत रोजगारी प्रदान गरिरहेको भए पनि प्रत्येक वर्ष श्रम बजारमा आउने ५ लाख नयाँ शक्तिलाई खपत गर्न अझै ठूलो लगानी र सुरक्षित वातावरण आवश्यक उल्लेख गरे। 

प्रकाशित मिति: १४:२३ बजे, सोमबार, वैशाख २१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्