Kathmandu Press

एभरेस्ट बेसक्याम्पमा ड्रोन उडान स्थगित, अनुमति दायराभन्दा बाहिर गएको गृहको आशंका

मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५ का व्यवस्थाहरु तथा सुरक्षा संवेदनशीलता सम्वन्धमा अन्य सरोकारवाला निकायसँग बुझ्नुपर्ने कारण देखाउँदै मन्त्रालयले हाललाई उडान अनुमति प्रदान गर्न नसकिने जानकारी दिएको थियो।
एभरेस्ट बेसक्याम्पमा ड्रोन उडान स्थगित, अनुमति दायराभन्दा बाहिर गएको गृहको आशंका

काठमाडौं, वैशाख १९ : गृह मन्त्रालयले एभरेस्ट बेस क्याम्प(सगरमाथा आधार शिविर क्षेत्र)मा एयर लिफ्ट टेक्नोलोजी कम्पनीको ड्रोन उडान अनुमति रोकेको छ।

गत बिहीबार मन्त्रालयले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाईलाई पत्र लेख्दै एयर लिफ्ट कम्पनीको फ्रि–फ्लाई अल्ट्रा एक्स जेन–२ क्याटागोरी ‘सी’ मोडलको ड्रोन उडान अनुमति रोक्न निर्देशन दिएको हो।

मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५ का व्यवस्थाहरु तथा सुरक्षा संवेदनशीलता सम्वन्धमा अन्य सरोकारवाला निकायसँग बुझ्नुपर्ने कारण देखाउँदै मन्त्रालयले हाललाई उडान अनुमति प्रदान गर्न नसकिने जानकारी दिएको थियो।

Hardik ivf

‘एयर लिफ्ट कम्पनीको फ्रि–फ्लाई अल्ट्रा एक्स जेन–२ क्याटागोरी ‘सी’ मोडलको ड्रोनको उडान अनुमतिका लागि माग निवेदन पेश गरेको सन्दर्भमा मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५ का व्यवस्थाहरु तथा सुरक्षा संवेदनशीलता सम्वन्धमा अन्य सरोकारवाला निकायसँग बुझ्नुपर्ने भएको हुँदा हाललाई उडान अनुमति प्रदान गर्न नसकिने सचिवस्तर निर्णय भएको छ,’ पत्रमा भनिएको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले अनुमति प्राप्त दायराभन्दा बाहिर गएर गतिविधि भएको भन्ने सूचना प्राप्त भएपछि अनुमति रोक्ने निर्णय गरिएको बताए। उनका अनुसार उक्त सूचना पुष्टि नभएसम्म उडान रोक्ने र यदि सूचना गलत ठहरिए पुनः अनुमति दिन सकिनेछ।

‘उहाँहरुले अनुमति लिएको भन्दा बाहिर पनि अरु केही काम गर्नुभएको छ भन्ने सूचना प्राप्त भएको कारण हाललाई रोकेका हौं । यदि त्यो सूचना गलत सावित भयो भने त फेरि अनुमति पाइहाल्नुहुन्छ। हामी जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिरहेका छौं र दिएको अनुमतिभन्दा बाहिरको काम गरेको भन्ने जानकारी आएकाले मात्र हाललाई रोकेका हौं,’ उनले भने।

यस विषयमा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुसँग प्रतिक्रिया लिन खोज्दा कार्यालयले कुनै सूचना दिन चाहेन। मन्त्रालयले जिल्ला प्रशासन कार्यालयको समन्वयमा उक्त निर्णय गरेको भनेतापनि कार्यालयका सूचना अधिकारी देवेन्द्र सुवेदीले भने ड्रोन अनुमति रोक्ने निर्णय मन्त्रालयले गरेको र उक्त विषयमा आफूहरुलाई थप कुनै जानकारी नभएको बताए।

‘ड्रोन उडाउने अनुमति रद्द भएको छ । के कारणले र किन भन्ने थाहा छैन,’ उनले भने।

यता एयर लिफ्ट कम्पनीका सिइओ राजविक्रम महर्जनले भने मन्त्रालयको निर्णयप्रति असन्तुष्टि जनाउँदै कम्पनीले अनुमति बाहिर कुनै गतिविधि नगरेको दाबी गरे।

उनका अनुसार कम्पनीले हिमाल क्षेत्रमा सरसफाइ गर्ने, आरोहीको सुरक्षामा सहयोग गर्ने, अक्सिजन वा अत्यावश्यक सामग्रीहरु ढुवानी गर्ने तथा फोहोर व्यवस्थापन गर्ने उद्देश्यले ड्रोन प्रयोग गर्दै आएको छ।

उनले यस निर्णयले कम्पनी मात्र नभई समग्र पर्यटन क्षेत्रमा असर पर्ने उल्लेख गर्दै आइसफल क्षेत्रमा रुट खुल्न ढिलाइ भइसकेको अवस्थामा थप समस्या उत्पन्न हुने बताए।

प्रकाशित मिति: १४:१६ बजे, शनिबार, वैशाख १९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्