रुकुम पूर्व-रोल्पा सडक दुर्घटनाप्रति रास्वपाको शोक, सुधारको प्रतिबद्धता
रास्वपाले यस्तो दुर्घटनाले सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै यस्ता घटनालाई केवल तथ्याङ्कमा सीमित नगरी नागरिक जीवनसँग जोडिएको संवेदनशील विषयका रूपमा लिनुपर्नेमा जोड दिइएको छ।
काठमाडौं, वैशाख १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार जिप दुर्घटनामा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरेको छ। पार्टीले एक विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
रास्वपाले विकट भौगोलिक अवस्था र चुनौतीपूर्ण परिस्थितिकाबिच उद्धार कार्यमा खटिएका सुरक्षा निकाय तथा टोलीहरूको साहस र समर्पणको उच्च प्रशंसा गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
रास्वपाले यस्तो दुर्घटनाले सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै यस्ता घटनालाई केवल तथ्याङ्कमा सीमित नगरी नागरिक जीवनसँग जोडिएको संवेदनशील विषयका रूपमा लिनुपर्नेमा जोड दिइएको छ। पार्टीले यस्ता दुर्घटनाले परिवार र समुदायमा दीर्घकालीन असर पार्ने भन्दै सरोकारवालासँग मिलेर समाधान खोज्ने प्रतिबद्धता जनाएको छ।
आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति रोक्न सवारी दुर्घटना न्यूनीकरणका लागि नीतिगत सुधार, सडक अनुशासनको कडाइका साथ कार्यान्वयन तथा पूर्वाधार विकासमा जोड दिने र नागरिक सुरक्षालाई सर्वोच्च प्राथमिकता दिने रास्वपाले स्पष्ट पारेको छ।
रुकुम पूर्वबाट रोल्पा जिल्लाको थवाङ गाउँपालिका जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जिप थवाङ गाउँपालिका-१ को भिरालो क्षेत्रमा करिब ७००/८०० मिटर तल खसेको थियो ।












