‘फागुन २१ गतेको निर्वाचन असामान्य र अस्वाभाविक छ, गहिरो अनुसन्धान आवश्यक छ
‘कतिपय ठाउँमा स्वयं उम्मेदवारले आफूले हालेको भोट पनि आफूलाई नपरेको, कतिपय ठाउँमा जित्दै जित्दैन भनेकाले पनि यति धेरै भोट कसरी आयो भनेका जस्ता, कतिपय ठाउँमा चाहिँ भोट हाम्रो धेरै पो थियो त कता हरायो भन्या जस्ता रिपोर्टहरू पनि आए, त्यसलाई हामीले समीक्षा गर्दा यो निर्वाचन सामान्य निर्वाचन होइन।’
रुकुमपश्चिम, वैशाख १७ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले फागुन २१ गतेको निर्वाचन र अस्वाभाविक भएको बताएका छन्।
आफ्नो निर्वाचन क्षेत्र क्रममा रुकुमपश्चिम पुगेका दाहालले मुसिकोटमा पत्रकारसँग कुरा गर्दै निर्वाचन र यसको परिणामलाई असामान्य र अस्वाभाविक भएको बताउँदै गहिरो अनुसन्धान आवश्यक भएको उल्लेख गरे।
‘परिणाम जस्तो आएको छ, त्यो पनि कयौं ठाउँका रिपोर्टहरू सुन्दा सहज किसिमले आएको देखिँदैन,’ उनले भने, ‘कतिपय ठाउँमा स्वयं उम्मेदवारले आफूले हालेको भोट पनि आफूलाई नपरेको, कतिपय ठाउँमा जित्दै जित्दैन भनेकाले पनि यति धेरै भोट कसरी आयो भनेका जस्ता, कतिपय ठाउँमा चाहिँ भोट हाम्रो धेरै पो थियो त कता हरायो भन्या जस्ता रिपोर्टहरू पनि आए, त्यसलाई हामीले समीक्षा गर्दा यो निर्वाचन सामान्य निर्वाचन होइन।’
संयोजक दाहालले निर्वाचनको अध्ययन र अनुसन्धान अझै गहिरो रूपमा गर्नुपर्छ भन्ने आफ्नो पार्टीको निष्कर्ष रहेको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको झन्डै २ तिहाइको मतलाई भने आफूहरूले स्वीकार गरेको उल्लेख गरे।
नेकपाले सरकारले गर्ने राम्रा कामको समर्थन र नराम्रा काममा आलोचना गर्ने तथा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उनको भनाई थियो।
उनले नेकपाले अब युवाहरूलाई विशेष प्राथमिकता दिने बताए । संयोजक प्रचण्डले सिङ्गो कम्युनिस्ट आन्दोलनको पुनर्गठन आवश्यक रहेको बताए ।












