मन्त्री सीता बादीको घोषणा– नातावाद, भनसुन र भ्रष्टाचारमा सम्झौता गर्दिनँ
लागूऔषध, ठगी, जालसाजी, कुटपिट, तस्करीजस्ता अपराधमा संलग्न व्यक्तिको संरक्षण नगर्ने र कुनै पनि बहानामा कमिसन, घुस वा भ्रष्टाचारमा संलग्न नहुने उनको प्रतिबद्धता छ।
काठमाडौं, वैशाख १५ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले नातावाद, भनसुन, भ्रष्टाचार तथा कानुनविपरीतका कुनै पनि गतिविधिमा संलग्न नहुने स्पष्ट घोषणा गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री बादीले जनताको आशा र विश्वास बोकेर सार्वजनिक जिम्मेवारी सम्हालेको झण्डै पाँच हप्ता पुगेको उल्लेख गर्दै आफूले पदमा रहँदा नगर्ने कामहरू सार्वजनिक गरेकी हुन्।
उनले नातागोता, सम्बन्ध वा चिनजानका आधारमा जागिर लगाउने, नियुक्ति दिने तथा स्वार्थप्रेरित सरुवा–बढुवा मिलाउने काम नगर्ने स्पष्ट पारेकी छन्।
त्यस्तै, कानुनविपरीत भनसुन गर्ने, शक्तिको दुरुपयोग गर्ने, कानुन उल्लङ्घन गर्ने व्यक्तिको संरक्षण गर्ने वा गलत काम गर्ने व्यक्तिलाई कारबाहीबाट बचाउने काममा पनि आफू संलग्न नहुने उनले बताएकी छन्।
लागूऔषध, ठगी, जालसाजी, कुटपिट, तस्करीजस्ता अपराधमा संलग्न व्यक्तिको संरक्षण नगर्ने र कुनै पनि बहानामा कमिसन, घुस वा भ्रष्टाचारमा संलग्न नहुने उनको प्रतिबद्धता छ।
मन्त्री बादीले विशेषगरी महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तीकृत समुदायमाथि हुने हिंसा र अन्यायविरुद्ध सधैं लड्ने उल्लेख गरेकी छन्।
उनले राज्यका कुनै पनि स्रोत साधनको दुरुपयोग नगर्ने, सरकारी सेवा छिटो गराइदिन भनसुन वा सिफारिस स्वीकार नगर्ने तथा मन्त्री सुविधाका नाममा अनावश्यक सुविधा-क्वार्टर, घरभाडा वा कूटनीतिक राहदानी नलिने समेत बताएकी छन्।
‘भोट दिएको हुँ भन्ने आधारमा दबाब वा प्रभावमा पर्ने छैन, सबै नागरिकलाई समान रूपमा सेवा गर्नेछु,’ उनले लेखेकी छन्।
नागरिकका दुःख, आपत् वा अप्ठ्यारोमा सम्भव भएसम्म आफू स्वयं साथमा उभिने प्रतिबद्धता जनाउँदै उनले सुशासन केवल सरकारको नीतिले मात्र नभई नागरिकको सचेत र सामूहिक प्रयासबाट सम्भव हुने उल्लेख गरेकी छन्।
‘सम्बन्ध होइन नियमको सम्मान गरौं, दबाब होइन न्यायको साथ दिऔं, व्यक्तिगत स्वार्थ होइन समाजको हितलाई प्राथमिकता दिऔं’ भन्दै सबैलाई उनले सुशासनको अभियानमा साथ दिन आह्वान गरेकी छन्।












