Kathmandu Press

पोखरा महानगरपालिका–१३ मा दोस्रो साहित्य पर्व–२०८३ सम्पन्न

यस सत्रमा लोककवि अलिमियाँ, स्वर्गीय जगन्नाथ सिग्देल, स्वर्गीय टेकबहादुर ढेवाजुको योगदानको चर्चा गर्दै आगामी दिनमा युवाले दिनसक्ने योगदानका बारेमा छलफल गरिएको थियो ।
पोखरा महानगरपालिका–१३ मा दोस्रो साहित्य पर्व–२०८३ सम्पन्न

गण्डकी, वैशाख १४ : पोखराको सांस्कृतिक र साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यसहित पोखरा महानगरपालिका–१३ को आयोजनामा वडा कार्यालय परिसरमा आइतबार दोस्रो साहित्य पर्व– २०८३ सम्पन्न गरिएको छ । 

गीत सङ्गीत र साहित्यका विविध पक्षमा चर्चा गरिएको पर्वमा विभिन्न सत्रहरूमा छलफल गरिएको थियो । पर्वको पहिलो सत्रमा ‘बितेका पाइला र आउने बाटाः पोखराका युगपुरुषहरूको पदचापमा’ शीर्षकमा पत्रकार शोभाकान्त सिग्देलले पत्रकार पुण्य पौडेलसँग छलफल गरेका थिए । यस सत्रमा लोककवि अलिमियाँ, स्वर्गीय जगन्नाथ सिग्देल, स्वर्गीय टेकबहादुर ढेवाजुको योगदानको चर्चा गर्दै आगामी दिनमा युवाले दिनसक्ने योगदानका बारेमा छलफल गरिएको थियो ।

Hardik ivf

दोस्रो सत्रमा ‘अक्षरदेखि अल्गोरिदमसम्मः हाम्रो अबको शिक्षा र बदलिँदो समाजको स्वरुप’ विषयमा भौतिकशास्त्री डा कपिल अधिकारीसँग डा रामचन्द्र बरालले छलफल गरेका थिए । छलफलमा डा अधिकारीले सामाजिक सञ्जालको अल्गोरिदमले मानिसको आनीबानीलाई जिन्सी सामानजस्तो बनाइदिएको बताए । 

तेस्रो सत्रमा पत्रकार अनिशा श्रेष्ठले व्यावसायी नारायण पौडेल र समेसराज भण्डारीसँग उद्यमी र नवउद्यमीका विषयमा कुराकानी गरेका थिए भने चौथो सत्रमा ‘साहित्यमा नारीको प्रतिनिधित्व’ शीर्षकमा सहजकर्ता हसिना बस्नेतसँग साहित्यकार सरस्वती प्रतीक्षाले छलफल गरेकी थिईन् । त्यस्तै अन्तिम सत्रमा पत्रकार अमृत सुवेदी र गायक विनोद श्रेष्ठले कन्दरा ब्यान्ड र पोखराको सङ्गीतका विषयमा कुरा गरेका थिए । 

कार्यक्रममा स्थानीय साहित्यकार, कलाकार तथा चित्रकारहरूको  सहभागिता थियो । कार्यक्रममा साहित्यकार सरस्वती श्रेष्ठ ‘सरु’, धर्मराज अल्पायु, चन्द्रावती वाग्ले, कुशल गौतमका रचना वाचन गरिएका थिए । गायिका हरिदेवी कोइरालाले अलिमियाँले सङ्कलन गरेको ‘आकाशमा बादलु डम्मै छ’ बोलको गीत प्रस्तुत गरेकी थिईन् । 

यसअघि कार्यक्रमको उद्घाटन गर्दै लेखक तथा पत्रकार नारायण वाग्लेले आफ्नो लेखन क्षेत्रको प्रेरणाको स्रोत पुस्तकालय रहेको बताए । साहित्यमा सृजना गर्न स्वतन्त्र रूपमा लाग्नुपर्नेमा उनले जोड दिए।

अग्रज कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ले यस प्रकारका कार्यक्रमले साहित्यमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने, सिर्जनशीलता अभिवृद्धि गर्ने र स्थानीय प्रतिभालाई पहिचान तथा प्रोत्साहन गर्ने बताए । 

प्रकाशित मिति: ०८:३४ बजे, सोमबार, वैशाख १४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्