बागमतीको पानी स्वच्छ बनाउन नागार्जुनमा निर्माणाधिन बाँध प्रभावित
काठमाडौं, जेठ १३ : लकडाउनले उपत्यकाको सभ्यताको स्रोत बागमतीमा हिउँदमा पनि स्वच्छ पानी बगाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको धापमा निर्माण श....

काठमाडौं, जेठ १३ : लकडाउनले उपत्यकाको सभ्यताको स्रोत बागमतीमा हिउँदमा पनि स्वच्छ पानी बगाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको धापमा निर्माण शुरु गरिएको बाँधको काम प्रभावित भएको छ।
धाप बाँधको भौतिक प्रगति ७६ प्रतिशत सम्पन्न भए पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका कारण गत चैतदेखि नै काम बन्द भएको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। बाँधमा काम गर्ने भारतीय कामदार लकडाउनमा घर गएपछि नफर्किएका कारण काम हुन नसकेको समितिका आयोजना प्रमुख लीलाप्रसाद ढकालले बताए।
नेपाली कामदारले गर्न नसक्ने प्राविधिक काम भएकाले रोकिएको उनले बताए। धापमा बाँधको काम असार दोस्रो सातासम्म मात्र गर्न सकिन्छ। असार दोस्रो सातापछि वर्षात्का कारण काम गर्न सकिँदैन। कात्तिकपछि मात्र फेरि धाप बाँधको काम गर्न सकिन्छ। आयोजनाको हालसम्म ७० प्रतिशत वित्तीय प्रगति भएको छ।
एशियाली विकास बैंकको करिब ५१ करोड ऋण सहयोगमा निर्माण भइरहेको बाँध वैशाखमै सक्ने लक्ष्य भए पनि लकडाउनका कारण अलपत्र बनेको हो। चौबीस मिटर उचाइको बाँधमा वर्षातमा परेको पानी जम्मा गर्ने योजना छ।
योजना प्रभावित हुँदा बाँधमा वर्षात्को पानी जम्मा गर्न एक वर्ष कुनुपर्ने भएको अधिकारसम्पन्न बागमती समिति सञ्चालक सदस्य राम साहले बताए।
गोकर्णेश्वर नगरपालिका–१ स्थित धापमा बनिरहेको बाँधमा आकाशेपानी जम्मा गरी प्रतिसेकेन्ड ४० लिटर पानी बागमतीमा बगाइने योजना छ। बाँधमा आठ लाख ५० हजार क्युविक लिटर पानी अटाउँनेछ। बाँध भरिन चार वर्ष लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।
बाँध निर्माण सिँचाइ विभागको ठेक्कामा गुञ्जाउ–लामा–रमण जेभीले गरिरहेको छ। निर्माण कम्पनीका इञ्जीनियर रुपेशकुमार साह निकुञ्जभित्र गर्नुपर्ने काम भएकाले शुरुमा केही ढिलाइ भएको र अहिले फेरि लकडाउनले काम रोकिएको बताए। (रासस)










-1754206481.jpg)
