लोकतन्त्र व्यवहारिक हुनुपर्नेमा चालिसेको जोड, संघीयता विरुद्ध नकारात्मक प्रचारप्रति आपत्ति
‘जहाँ हरेकको उपस्थिति हुन्छ त्यहाँ लोकतन्त्र दरो हुन्छ। सहभागिताविनाको लोकतन्त्र आवरण हुन्छ। लोकतन्त्र सिद्धान्त मात्र होइन, व्यवहार पनि हो। स्थानीय सरकारको अनुपस्थितको लोकतन्त्र औपचारिक हुन्छ । स्थानीय सरकारसँगै भएको लोकतन्त्र व्यवहारिक हुन्छ,’ उनले भने।
काठमाडौं, वैशाख १३ : नेपाली कांग्रेका प्रवक्ता देवराज चालिसेले लोकतन्त्रलाई व्यवहारमा अनुभूति हुने प्रणालीका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
न्यूज एक्सप्रेस मिडियाले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै चालिसेले सहभागिता विनाको लोकतन्त्र केवल आवरण हुने टिप्पणी गरे।
उनले स्थानीय सरकारको प्रभावकारी उपस्थिति बिना लोकतन्त्र औपचारिक हुने दाबी गर्दै स्थानीय तह बलियो भए मात्र लोकतन्त्र व्यवहारिक हुने बताए।
‘जहाँ हरेकको उपस्थिति हुन्छ त्यहाँ लोकतन्त्र दरो हुन्छ। सहभागिताविनाको लोकतन्त्र आवरण हुन्छ। लोकतन्त्र सिद्धान्त मात्र होइन, व्यवहार पनि हो। स्थानीय सरकारको अनुपस्थितको लोकतन्त्र औपचारिक हुन्छ । स्थानीय सरकारसँगै भएको लोकतन्त्र व्यवहारिक हुन्छ,’ उनले भने।
‘हामीलाई कस्तो लोकतन्त्र चाहिएको हो? मतदान गर्ने मात्र कि त्यसको परिणाममा जनताले अनुभूति गर्ने पनि?’ भन्ने प्रश्न गर्दै उनले लोकतन्त्रको सार जनताले प्रत्यक्ष अनुभव गर्न पाउनु रहेको उल्लेख गरे।
त्यसैगरी, उनले संघीयताप्रति भइरहेका नकारात्मक टिप्पणीप्रति असन्तुष्टि जनाउँदै संघीयता आफैंमा महँगो वा अव्यवहारिक नभएको स्पष्ट पारे।
‘हामीलाई कस्तो लोकतन्त्र चाहिएको हो? व्यवहारिक लोकतन्त्र खोजेको हो की औपचारिक लोकतन्त्र खोजेको हो ? लोकतन्त्र भनेको मतदान हाल्ने मात्र हो की त्यसको परिणाममा जनताले अनुभूति पनि गर्ने हो? संघीयता आफैंमा महँगो पनि होइन, खर्चिलो पनि होइन, अव्यवहारिक पनि होइन,’ उनले भने, ‘सञ्चालन गर्न नजान्ने, अधिकार नदिने त्यसलाई दरिलो र व्यवस्थित नगर्ने अनि त्यसलाई आरोप लगाउने त्यो न्याय हुँदैन। एए चिकित्सक, डाक्टर खराब हुनसक्छ तर चिकित्सक विज्ञान खराब होइन। यस्तो किसिमको परिभाषाले लोकतन्त्रको हातखुट्टालाई कमजोर गराउन खोज्दै छौं।’
चालिसेले गलत अभ्यासका कारण लोकतन्त्रको संरचनामाथि नै प्रश्न उठाउने प्रवृत्ति बढिरहेको भन्दै यसले लोकतन्त्र कमजोर बनाउने चेतावनी दिए।












