संघीयता सफल कार्यान्वयन गर्न राजनीतिक संस्कार, नियत र प्रयास महत्वपूर्ण
परियारले संघीयतालाई केवल तीन तहको सरकारसँग मात्र सीमित नबुझ्न आग्रह गर्दै यसलाई राज्य रूपान्तरण र जनताको अधिकार सुनिश्चित गर्ने उच्चतम लोकतान्त्रिक विधिका रूपमा बुझ्नुपर्ने बताए।
काठमाडौं, वैशाख १३ : प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का नेता सन्तोष परियारले वर्तमान अवस्थामा राजनीतिक दलहरूबीच संवाद अपरिहार्य भएको बताएका छन् । न्यूज एक्सप्रेस मिडियाले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा उनले यस्तो बताएका हुन्।
परियारले संघीयतालाई केवल तीन तहको सरकारसँग मात्र सीमित नबुझ्न आग्रह गर्दै यसलाई राज्य रूपान्तरण र जनताको अधिकार सुनिश्चित गर्ने उच्चतम लोकतान्त्रिक विधिका रूपमा बुझ्नुपर्ने बताए। उनले संघीयताको सफल कार्यान्वयनका लागि राजनीतिक संस्कार, नियत र प्रयास महत्वपूर्ण हुने उल्लेख गरे
‘हामी संवाद नगरी नहुने अवस्थामा पुगेका छौं संवादभन्दा बढी झगडा र गालीगलौज बढिरहेको अवस्थामा लोकतन्त्रलाई मजबुत बनाउन संवाद अत्यन्त आवश्यक छ । तीन तहको सरकार भन्ने वित्तिकै संघीयता जोडिन्छ, संघीयतासँगै संविधान जोडिन्छ। संविधानसँगै हाम्रो राजनीतिक संघर्षहरु जोडिन्छन्। तर मान्छेहरु जसलाई जे गर्न मन लाग्छ त्यही गर्नुपर्छ भन्ने जुन सोच छ त्यो वास्तवमा होइन जस्तो मलाई लाग्छ,’ उनले भने, ‘संघीयतालाई अलि फराकिलो गरि बुझ्ने हो भने यो कुनै तीन तहको सरकारसँग मात्र सम्बन्धित कुरा होइन । यो राज्यलाई रुपान्तरण गर्ने एउटा राजनीतिक अझ त्यसमा पनि लोकतान्त्रिक विधिमा सबैभन्दा जनताको अधिकार जनतालाई नै दिने एउटा उच्चत्तम विधि हो।’
उनले संघीयताको सैद्धान्तिक कुरा लोकतन्त्रलाई सकेसम्म जनताको पक्षमा पुर्याउनु रहेको बताए।
‘यदि हामीले गर्न सक्यौं सकेनौं, हाम्रो नियत के थियो, प्रयत्न के हो? हाम्रो राजनीतिक संस्कार के हो त्यो एउटा कुरा हो । तर संघीयताको सैद्धान्तिक कुरा भनेको लोकतन्त्रलाई सकेसम्म जनताको पक्षमा पुर्याउने हो,’ उनले भने।












