विधेयक निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउन विपिन आचार्यद्वारा ‘विधेयक प्रयोगशाला’ सुरु
आचार्यको आधिकारिक वेबसाइट मार्फत सुरु गरिएको ‘विधेयक प्रयोगशाला’ मा संसदमा दर्ता भएका विधेयकहरू पढ्न, बुझ्न, छलफल गर्न र तिनका दफा–दफामाथि सुझाव तथा संशोधन प्रस्ताव राख्न सकिने व्यवस्था गरिएको छ।
काठमाडौं, वैशाख १३ : राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्यले विधेयक निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउन ‘विधेयक प्रयोगशाला’ सुरु गरेका छन्।
आचार्यले संसदमा प्रस्तुत हुने विधेयकमाथि नागरिक, विषय विज्ञ र सरोकारवालाको प्रत्यक्ष सुझाव संकलन गर्ने उद्देश्यले ‘विधेयक प्रयोगशाला’ (बिल ल्याप) सुरु गरेका हुन्।
आचार्यको आधिकारिक वेबसाइट मार्फत सुरु गरिएको ‘विधेयक प्रयोगशाला’ मा संसदमा दर्ता भएका विधेयकहरू पढ्न, बुझ्न, छलफल गर्न र तिनका दफा–दफामाथि सुझाव तथा संशोधन प्रस्ताव राख्न सकिने व्यवस्था गरिएको छ।
सरकारको प्रमुख जिम्मेवारी संसदमा नीति तथा विधेयक प्रस्तुत गर्नु भए पनि ती विधेयकलाई मसिनोसँग अध्ययन गर्ने, परिष्कृत गर्ने र जनताको जीवनसँग जोड्ने दायित्व संसद, जनप्रतिनिधि र नागरिक सबैको साझा जिम्मेवारी रहेको आचार्यको भनाइ छ।
बन्द कोठाभित्र तयार गरिने संशोधनले मात्र समाजको यथार्थ पूर्ण रूपमा बोल्न नसक्ने भएकाले त्यसमा आम नागरिक, विषय विज्ञ र सरोकारवालाको प्रत्यक्ष आवाज जोडिनुपर्ने आवश्यकता औँल्याउँदै ‘विधेयक प्रयोगशाला’ सुरु गरिएको कुरा उनले आफ्नो सामाजिक सञ्जालमार्फत बताए।












