बन्दै थुम्केरानी इलाम
इलाम बजारबाट सोयाङ हुँदै नयाँबजारसम्म सवारी साधनमार्फत करिब एक घण्टामा पुग्न सकिन्छ भने नयाँबजारबाट करिब ३० मिनेटको पैदल यात्रापछि थुम्केरानी पुग्न सकिन्छ।
इलाम, वैशाख ७ : पर्यटकीय जिल्ला इलाम को माईजोगमाई गाउँपालिकास्थित थुम्केरानी क्षेत्र पछिल्लो समय चर्चित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ।
यहाँबाट इलाम जिल्लाको विस्तृत भू–भाग, आकर्षक सूर्योदय तथा छिमेकी भारत का सहरहरूको दृश्यावलोकन गर्न सकिने भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको हो।
माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारबाट करिब ५ किलोमिटर दूरीमा रहेको थुम्केरानी पछिल्ला वर्षहरूमा सूर्योदय र सूर्यास्त अवलोकनका लागि लोकप्रिय बन्दै गएको छ । इलाम सदरमुकामबाट नजिक पर्ने भएकाले पनि यो पर्यटकहरूको पहिलो रोजाइ बन्न थालेको हो।
इलाम बजारबाट सोयाङ हुँदै नयाँबजारसम्म सवारी साधनमार्फत करिब एक घण्टामा पुग्न सकिन्छ भने नयाँबजारबाट करिब ३० मिनेटको पैदल यात्रापछि थुम्केरानी पुग्न सकिन्छ।
स्थानीय महेश सापकोटाका अनुसार पछिल्लो समय थुम्केरानी क्षेत्रमा नै होमस्टे सञ्चालनमा आएसँगै पर्यटकलाई थप सहज भएको छ । विशेषगरी असोज, कात्तिक, मंसिर, चैत्र र बैशाख महिनामा यहाँ पर्यटकको चहलपहल बढी हुने गरेको छ।
समुद्री सतहबाट करिब २,४०० मिटर उचाइमा रहेको थुम्केरानीबाट इलामका सबै स्थानीय तहसँगै तराईका फाँटहरूको मनोरम दृश्य देख्न सकिन्छ। साथै, छिमेकी भारतका प्रसिद्ध पर्यटकीय सहर दार्जिलिङ र कर्साङ को दृश्यले पनि पर्यटकलाई लोभ्याउने गरेको छ।
यस क्षेत्र पुगेका पर्यटकले घना जंगल, फराकिला फाँट, हिमश्रृङ्खलासँगै दुर्लभ वन्यजन्तु रेड पाण्डा को अवलोकनसमेत गर्न सक्ने स्थानीयको भनाइ छ।











