नेपाललाई प्रिमियम आरोग्य गन्तव्यको रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल
पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव नभएको बताउँदै उनले बरु पर्यटकले पाउने अनुभवको गहिराइ र त्यसबाट हुने आम्दानीको गुणस्तर महत्वपूर्ण हुने बताए।
काठमाडौं, वैशाख २ : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन्।
‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ को अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले नेपाललाई ‘बजेट गन्तव्य’ को ट्यागबाट मुक्त गरी ‘प्रिमियम आरोग्य गन्तव्य’ को रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव नभएको बताउँदै उनले बरु पर्यटकले पाउने अनुभवको गहिराइ र त्यसबाट हुने आम्दानीको गुणस्तर महत्वपूर्ण हुने बताए।
आरोग्य पर्यटकहरू सामान्य पर्यटकभन्दा बढी खर्च गर्छन् र लामो समय बस्ने बताउँदै उनले उनीहरू विलासिता मात्र नभई, आत्मिक शान्ति र जीवनको अर्थ खोज्न यात्रा गर्ने बताए। यसका लागि नेपालका हिमालय, पवित्र नदीहरू र प्राचीन योग परम्पराहरू विश्वकै लागि अद्वितीय ‘प्रोडक्ट’ हुनसक्ने उनको भनाइ छ।
सभामुख अर्यालले विश्वभर आरोग्य पर्यटन तीव्र रूपमा विस्तार भइरहेको र यो खर्बौं डलरको अर्थतन्त्रमा रूपान्तरण भइसकेको सन्दर्भमा नेपालसँग अपार सम्भावना रहेको औँल्याए।
पश्चिममा बडिमालिका र खप्तडदेखि कर्णालीको रारा, लुम्बिनी, मनाङ र मुस्ताङसम्मका क्षेत्रहरू आत्मिक अनुभूतिका यात्रा गर्ने गन्तव्य भएको उनको भनाइ छ।












