महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण गर्ने कामु प्रधानन्यायाधीश मल्लको तयारी
संवैधानिक इजलासलाई थप सुदृढ र पारदर्शी बनाउन नयाँ ‘पोर्टल’ सार्वजनिक गर्ने कार्यक्रममा कामु प्रधानन्यायाधीश मल्लले यसका लागि सम्भाव्यता अध्ययन र कार्यविधि निर्माण गर्न एउटा समितिले काम अगाडि बढाइसकेको जानकारी दिएकी हुन् ।
काठमाडौं, चैत ३० : कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्याय सम्पादनलाई थप पारदर्शी र जवाफदेही बनाउन महत्वपूर्ण मुद्दाहरूको प्रत्यक्ष प्रसारण गर्ने तयारी भइरहेको बताएकी छिन् ।
संवैधानिक इजलासलाई थप सुदृढ र पारदर्शी बनाउन नयाँ ‘पोर्टल’ सार्वजनिक गर्ने कार्यक्रममा कामु प्रधानन्यायाधीश मल्लले यसका लागि सम्भाव्यता अध्ययन र कार्यविधि निर्माण गर्न एउटा समितिले काम अगाडि बढाइसकेको जानकारी दिएकी हुन् । साथै उनले न्यायपालिकाको वर्तमान सूचना प्रविधि आईटी प्रणालीको अवस्था भने कमजोर रहेको बताउँदै भविष्यमा अनलाइन रजिस्ट्रेसन, भर्चुअल हियरिङ भर्चुअल सुनुवाइ, अनलाइन पेमेन्ट र घरमै बसेर फैसला डाउनलोड गर्न मिल्ने प्रणाली स्थापना गर्ने लक्ष्य रहेको समेत उनको भनाइ छ ।
कानुन व्यवसायी हुँदादेखि नै प्रगतिशिल र सुचना तथा सञ्चारको उच्चतम सदुपयोग गर्दै जनतालाई सजिलो सेवा प्रदान गर्न प्रयास गर्ने कामु प्रधानन्यायधिष मल्लको पछिल्ला निर्णयले परम्परागत अदालतबाट सेवा लिईरहेका आम नागरिकलाई जनस्तरमा निकै सजिलो बनाउने निश्चित छ । संविधानको रक्षा र न्यायको पारदर्शिताका लागि प्रविधिको प्रयोगलाई जोड दिँदै सर्वोच्च अदालतले संवैधानिक इजलासका लागि छुट्टै पोर्टल सञ्चालनमा ल्याएको उनले बताइन् । उनले न्यायपालिकामा रहेका पुराना मुद्दाहरूको फर्छ्यौटलाई प्राथमिकतामा राखिएको बताएकी छिन् ।
उनका अनुसार संवैधानिक इजलासमा हाल २ सय ८२ वटा मुद्दा विचाराधीन छन् । जसमा २०७४ सालदेखिका ८ वर्ष पुराना मुद्दाहरू समेत बाँकी रहेका छन् । सर्वोच्च अदालतले संवैधानिक इजलासका मुद्दा फर्छ्यौट गर्न निश्चित लक्ष्य निर्धारण गरेको पनि उनले बताइन् ।












