Kathmandu Press

भारतीय संगीतकी हस्ती आशा भोसलेको निधन

आठ दशक लामो सांगीतिक यात्रामार्फत भारतीय चलचित्र र संगीतलाई नयाँ उचाइमा पु¥याएकी भोसलेको निधनले संगीत क्षेत्रमा एउटा युगको अन्त्य भएको छ।
भारतीय संगीतकी हस्ती आशा भोसलेको निधन

काठमाडौं, चैत २८ : भारतीय संगीत जगतकी सुप्रसिद्ध र बहुमुखी प्रतिभाकी धनी पाश्र्व गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ।

आठ दशक लामो सांगीतिक यात्रामार्फत भारतीय चलचित्र र संगीतलाई नयाँ उचाइमा पु¥याएकी भोसलेको निधनले संगीत क्षेत्रमा एउटा युगको अन्त्य भएको छ।

मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालका डा. प्रतित समदानीले उनको निधनको पुष्टि गरेका छन्। डा. समदानीका अनुसार मल्टी–अर्गन फेलियर (विभिन्न अङ्गहरूले काम गर्न छोडेकाले( उनको मृत्यु भएको हो। 

Hardik ivf

अत्यधिक थकाई र छातीमा संक्रमण देखिएपछि उनलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो। उनकी नातिनी जनाई भोसलेले यसअघि सामाजिक सञ्जालमार्फत हजुरआमा अस्पताल भर्ना भएको जानकारी दिँदै परिवारको गोपनीयताको सम्मान गर्न आग्रह गरेकी थिइन्।

सन् १९३३ मा जन्मिएकी आशा भोसलेले सानै उमेरदेखि संगीत यात्रा सुरु गरेकी थिइन्। सन् १९५० को दशकदेखि चर्चामा आएकी उनी विश्वकै सबैभन्दा सम्मानित पाश्र्व गायिकामध्ये एक बनिन्। उनको चञ्चल, भावुक र जुनसुकै शैलीमा ढल्किन सक्ने स्वरले धेरै पुस्ताका संगीत प्रेमीहरूको मन जितेको छ।

आफ्नो असाधारण करियरमा भोसलेले हजारौँ गीतहरू विभिन्न भारतीय भाषाहरूमा रेकर्ड गराएकी छन् । शास्त्रीय संगीत, गजल, क्याबरे, पपदेखि लोक संगीतसम्म उनको दख्खल थियो । अग्रणी संगीतकार र फिल्मकर्मीहरूसँगको उनको सहकार्यले हिन्दी सिनेमामा कयौँ यादगार गीतहरू दिएको छ ।

उनको योगदानको कदर गर्दै भारत सरकारले उनलाई प्रतिष्ठित ’दादासाहेब फाल्के अवार्ड’ र भारतको दोस्रो उच्च नागरिक सम्मान पद्म विभूषणबाट सम्मानित गरेको थियो। सन् २०११ मा गिनिज वल्र्ड रेकड्र्सले उनलाई संगीत इतिहासमै सबैभन्दा धेरै गीत रेकर्ड गर्ने कलाकारको रूपमा औपचारिक मान्यता दिएको थियो।

उनका दिल चिज क्या है, पिया तु अब तो आजा, मेरा कुछ सामान र चुरा लिया है तुमने जस्ता गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्।

उनको निधनको खबरले भारतभर शोकको लहर छाएको छ। सामाजिक सञ्जालमार्फत विश्वभरका प्रशंसक, कलाकार र विशिष्ट व्यक्तिहरूले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति: १४:१७ बजे, आइतबार, चैत २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्