संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं
‘दलित आयोगलगायत सरोकारवाला निकायसँग समन्वय गरेर सुझाव दिएका छौं, यो सुरुवात मात्र हो,’ सांसद सुनारले भने।
काठमाडौं, चैत २४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले संसद र कार्यपालिकाको भूमिका फरक रहेको स्पष्ट गर्दै अझ गम्भीर ढंगले काम गर्नुपर्ने बताएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसदको आफ्नो जिम्मेवारी र सरकारको आफ्नै भूमिका हुने उल्लेख गरे।
‘संसद र सरकार फरक–फरक पाटो हुन् भन्ने बुझ्न जरुरी छ । सरकारले आफ्नो ढंगले काम गरिरहेको छ। प्रधानमन्त्री धेरै नबोली लिखित रूपमा माफी माग्दै जनता र दलित समुदायको जीवनस्तर उकास्न मजबुत निर्णय ल्याउने प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने।
सुनारले दलित समुदायको न्याय र हितका लागि सरकारले अघि बढाएको काममा आफ्नो पार्टीले पनि सुझाव दिएको बताए। ‘दलित आयोगलगायत सरोकारवाला निकायसँग समन्वय गरेर सुझाव दिएका छौं, यो सुरुवात मात्र हो,’ उनले भने।
गृहमन्त्रीमाथि उठेका प्रश्नबारे उनले निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गरे। ‘मजबुत ढंगले छानबिन हुनुपर्छ र हुन्छ पनि, सत्यतथ्य आएपछि कसैले पनि चुक्ने वा झुक्ने हुँदैन,’ उनले स्पष्ट पारे।
यसैबीच, सांसद इन्दिरा राना मगरले कृषकहरूलाई आयतित मलमा निर्भर रहनु नपर्नेगरी स्वदेशमै उत्पादन बढाउनुपर्नेमा जोड दिइन्।
‘सानो उद्योगमार्फत मल उत्पादनका परियोजना अघि बढाउनुपर्छ। यो किसानका लागि अपरिहार्य छ र दीर्घकालीन रूपमा लागू गर्नुपर्छ,’ उनले भनिन्।
उनले कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रका समस्याहरू समाधान गर्न सके जनताले प्रत्यक्ष राहत महसुस गर्ने धारणा व्यक्त गरिन्।












