Kathmandu Press

निलम्बनको संघारमा एन्फा, ७ दिनभित्र निर्वाचन गर्न फिफा र एएफसीको पत्र

फिफा र एएफसीले एन्फा महासचिव किरणलाई पत्र लेख्दै ७ दिनभित्र निर्वाचनको सुनिश्चतता गर्न भन्दै त्यसो नभए निलम्बनको प्रक्रिया अगाडि बढाउने चेतावनी दिएका छन्।
निलम्बनको संघारमा एन्फा, ७ दिनभित्र निर्वाचन गर्न फिफा र एएफसीको पत्र

काठमाडौं, चैत २२ : पछिल्लो सयम विवादमा फसेको अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बनको संघारमा पुगेको छ। 

‘अर्ली इलेक्सन’ घोषणा गरेर निर्वाचन गराउन नसकेपछि एन्फा निलम्बनको संघारमा पुगेको हो। 

विवाद पछि एन्फालाई राष्ट्रिय खेलकुद परिषद्ले तीन महिनाका लागि निलम्बन गरेको छ। सोही निलम्बनपछि एन्फाले झापामा चैत १३ गतेका लागि तय भएको निर्वाचन स्थगित गरेको थियो।

Hardik ivf

निर्वाचन स्थगित गरेपछि फिफा र एएफसीले एन्फालाई पत्र लेख्दै निलम्बन गर्ने चेतावनी दिएका छन्। फिफा र एएफसीले ७ दिनभित्र निर्वाचनको सुनिश्चतता गर्न भन्दै त्यसो नभए निलम्बनको प्रक्रिया अगाडि बढाउने चेतावनी दिएका छन्।

फिफा र एएफसीले एन्फा महासचिव किरणलाई पत्र लेख्दै यस्तो चेतावनी दिएका हुन्। निर्धारित समयमा निर्वाचन नगरे निलम्बन प्रक्रिया थालिने प्रस्ट चेतावनी फिफा र एएफसीको छ।

एन्फामाथि राखेपले गरेको निलम्बनलाई फिफा र एएफसीले तेस्रो पक्षको हस्तक्षेपका रुपमा लिएको छ। फिफाको विधान अनुसार प्रत्येक सदस्य संघले आफ्नो मामिला स्वतन्त्र रूपमा र कुनै पनि तेस्रो पक्षको अनुचित प्रभाव बिना व्यवस्थापन गर्नुपर्ने अनिवार्य व्यवस्था छ। 

एन्फामा राखेप (तेस्रो पक्ष)को हस्तक्षेप पछि फिफा र एएफसीले कडा रुपमा चेतावनी दिएका हुन्। राखेपको निलम्बनले एन्फालाई आफ्नो मामिलामा स्वतन्त्र रूपमा व्यवस्थापन गर्नबाट रोकेको फिफ र एएफसीको ठहर छ। 

‘राखेपले निर्णय खारेज नगरेमा वा पत्र प्राप्त भएको ७ दिनभित्र उक्त निर्णयको कुनै प्रभाव नरहेको र एन्फाले राखेपद्वारा लगाएको निलम्बन पूर्वको अवस्थाबाट आफ्नो चुनावी प्रक्रिया पुन: सुरु गरेर लिखित रूपमा सुनिश्चित नगरेमा एन्फालाई तत्काल निलम्बन गर्नका लागि फिफा काउन्सिलमा पेस गरिनेछ,’ फिफा र एएफसीले एन्फा महासचिवलाई लेखेको पत्रमा भनिएको छ।

फिफाबाट निलम्बनमा परेमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैन भने फिफा, एएफसी विकास कोषमा पहुँचबाट पनि नेपाल वञ्चित हुने छ। यस्तै, अन्य सदस्य संघहरू पनि एन्फाले कुनै सहकार्य गर्न पाउने छैन । 
 

प्रकाशित मिति: १५:२८ बजे, आइतबार, चैत २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्