इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनुपर्छ : डंगोल
उनले इन्धनबाट सञ्चालन हुने गाडीहरूका लागि तोकिएको कोटा आधा गर्न, सकेसम्म विद्युतीय (इभी) सवारी साधन प्रयोग गर्न र अत्यावश्यक बाहेक अन्य अवस्थामा सवारी प्रयोग नगर्न अग्रह गरिन्।
काठमाडौं, चैत २२ : काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन आपूर्तिमा सम्भावित चुनौती देखिएकाले महानगरका सवारी साधन प्रयोगमा संयम अपनाउनुपर्नेमा जोड दिइन्।
आइतबार आयोजित ४८औँ नगर कार्यपालिका बैठकमा बोल्दै डंगोलले अहिलेको भूराजनीतिक अवस्थाका कारण अभाव र त्यसको प्रभाव विस्तारै देखिन थालेको बताएकी छन्।
उनले इन्धनबाट सञ्चालन हुने गाडीहरूका लागि तोकिएको कोटा आधा गर्न, सकेसम्म विद्युतीय (इभी) सवारी साधन प्रयोग गर्न र अत्यावश्यक बाहेक अन्य अवस्थामा सवारी प्रयोग नगर्न अग्रह गरिन्।
त्यसैगरी, उनले महानगरका सबै विभागलाई आफ्नो कार्यक्रम र त्यसमा भएको खर्चको विवरण नियमित रूपमा उपलब्ध गराउन अनुरोध गरिन्।
बैठकमा काठमाडौंमा पार्किङ व्यवस्थापनका लागि कार्यदल गठन गरिएको जानकारी पनि दिइयो।
उक्त कार्यदलले अध्ययन गरी आगामी बैठकमा प्रतिवेदन पेस गर्नेछ । डंगोलले पार्किङलाई निषेध गर्नु भन्दा व्यवस्थित बनाउनु आवश्यक रहेको उल्लेख गरिन्।