ऊर्जालाई उत्पादनसँग जोडेर आर्थिक विकासको आधार बनाउनुपर्छ : विराज भक्त श्रेष्ठ
सरकारको भूमिका निजी क्षेत्रलाई सहजीकरण गर्ने रहेको भन्दै मन्त्री श्रेष्ठले विकासमा निजी क्षेत्रलाई नै अग्रसर बनाउने नीति लिने बताए।
काठमाडौं, चैत २१ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा क्षेत्रको समग्र सुधारका लागि नीतिगत कार्यहरूलाई प्राथमिकता दिने बताएका छन्।
नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) का पदाधिकारीहरूसँग शुक्रबार मन्त्रालयमा भएको छलफलमा उहाँले ऊर्जा क्षेत्रका चुनौतीहरूलाई सम्बोधन गर्न सरकार नीतिगत सुधारमा केन्द्रित रहेको स्पष्ट पारे।
मन्त्री श्रेष्ठले ऊर्जा उत्पादन मात्र नभई खपतको रणनीतिलाई पनि समान रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। ‘ऊर्जा केवल कच्चा पदार्थ मात्र होइन, यसलाई उत्पादनसँग जोडेर आर्थिक विकासको आधार बनाउनुपर्छ,’ उनले भने।
उनले घरेलु र औद्योगिक मागको वास्तविक अवस्था बुझ्न यथार्थपरक अध्ययनको आवश्यकता रहेको समेत उल्लेख गरे।
सरकारको भूमिका निजी क्षेत्रलाई सहजीकरण गर्ने रहेको भन्दै मन्त्री श्रेष्ठले विकासमा निजी क्षेत्रलाई नै अग्रसर बनाउने नीति लिने बताए। उनले उद्यमी व्यवसायीहरूलाई समस्या मात्र नभई समाधानका उपायसहित छलफलमा आउन आग्रह गर्दै आर्थिक कूटनीतिलाई ऊर्जा विकासको मुख्य साधनका रूपमा प्रयोग गर्नुपर्ने धारणा राखे।
मन्त्रालयले नयाँ विद्युत् नीति ल्याउने तयारी गरिरहेको जानकारी दिँदै उनले त्यसका लागि स्पष्ट कार्ययोजना सहित ठोस सुझाव दिन निजी क्षेत्रलाई आह्वान गरे। ऊर्जा सुरक्षाका लागि सार्वजनिक र निजी दुवै क्षेत्रमा रहेका कमजोरीहरू सुधार्दै सहभागितामूलक मोडलमा जानुपर्ने उनको भनाई थियो।
छलफलका क्रममा निक्कीका अध्यक्ष सुनिल केसीले नेपालको जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण बनाउन र स्वीकृति प्रक्रियालाई सरल बनाउन सुझाव दिए। विगत दुई दशकमा अपेक्षाअनुसार भारतीय लगानी आउन नसकेको तथ्य प्रस्तुत गर्दै उनले अब प्रसारण पूर्वाधार र विद्युत् व्यापारलाई प्राथमिकता दिनुपर्ने बताए।
संघले ऊर्जा सहकार्य विस्तारका लागि नयाँ दिल्लीमा ‘नेपाल–भारत ऊर्जा फोरम’ आयोजना गर्ने प्रस्ताव समेत अघि सारेको छ। जसमा दुवै देशका सरकारले सहजीकरण गर्ने र निजी क्षेत्रले लगानी गर्ने अवधारणा राखिएको छ।
निक्कीले लामो समयदेखि प्रक्रियामा रहेका विद्युत् व्यापार अनुमतिहरूलाई छिटो अगाडि बढाउन मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएको छ।












