एमाले सचिवालय बैठक, यस्ता छन् छ वटा निर्णय?
द्यार्थी संगठनको खारेजी,ट्रेड युनियनको खारेजी तथा निजी क्षेत्रका सञ्चार माध्यममा तीनै तहका सरकारले विज्ञापन तथा सूचना प्रकाशन प्रसारण गर्न रोक लगाएकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ।
काठमाडौं, चैत २१ : नेकपा एमालेले नेपाली सेना,कर्मचारी र कूटनीति समुदायप्रति आफ्नो पार्टीको पूर्ववत् सम्बन्ध रहेको स्पष्ट पारेको छ।
पार्टीको केन्द्रीय सचिवालय बैठकले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापाले संसद्मा दिएको अभिव्यक्तिमा गम्भीर छलफल गर्दै यस्तो निर्णय गरेको हो।
‘बैठकले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (व्यूरोक्रेसी) र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ ’ बैठकपछि महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बैठकले सरकारका एक हप्ताका कामका विषयमा पनि समीक्षा गर्दै कतिपय निर्णयबाट फिर्ता हुन आग्रह गरेको छ। विद्यार्थी संगठनको खारेजी,ट्रेड युनियनको खारेजी तथा निजी क्षेत्रका सञ्चार माध्यममा तीनै तहका सरकारले विज्ञापन तथा सूचना प्रकाशन प्रसारण गर्न रोक लगाएकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ।
‘बैठकले वर्तमान सरकारको विद्यार्थी सङ्गठनहरू खारेज गर्ने र उनीहरूमाथि प्रतिबन्ध लगाउने निर्णयको कडा शब्दमा विरोध गरेको छ र सरकारलाई अविलम्ब यस निर्णयबाट पछि हट्न ध्यानाकर्षण गराएको छ,’ महासचिव पोखरेलले जारी गरेको विज्ञप्ति पढेर सुनाउँदै उपमहासचिव लेखराज भट्टले भनेका छन्।
निजी क्षेत्रका सञ्चार माध्यममा विज्ञान रोकेर प्रेसको भूमिका कमजोर पार्ने सरकारको तयारी रहेको एमालेको ठहर रहेको छ।
यस सम्बन्धमा सचिवालय बैठकको निर्णयमा भनिएको छ, ‘सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमहरूलाई मात्र दिने सरकारको निर्णयप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ। बैठकले स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने सरकारको यस निर्णयको कडा शब्दमा विरोध गरेको छ र यो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।’
बैठकले फागुन २१ मा भएको निर्वाचनको संक्षिप्त समीक्षा गर्दै निर्वाचन सफल गराउने सम्पूर्ण पक्षलाई धन्यवाद दिएको छ । यसै गरी भारी बहुमतका साथ सरकार गठन गरेकोमा प्रधानमन्त्री बालेन्द्र शाहलाई धन्यवाद पनि प्रकट गरेको छ।
पछिल्ला दिनमा एमालेका कार्यकर्ता खास गरी महिलाहरूप्रति लक्षित गरेर व्यापक रूपमा भइरहेको साइबर हमलाप्रति आपत्ति प्रकट गरेको छ। यस्तो अशिष्ट व्यवहारको साइबर हमलाको प्रतिवाद गर्न र कानुनी उपचार गर्न सम्पूर्ण पार्टीपंक्तीलाई एमालेले आग्रह गरेको छ । एमालेले साइबर अपराधीलाई कानुनी कारबाही गर्न सरकारसँग माग पनि गरेको छ।
एमालेले पश्चिम एशियाली देशहरूमा भइरहेको युद्धका विषयमा पनि ध्यान आकर्षण भएको जनाएको छ। बैठकले स्वदेश फर्कन चाहने सबैलाई सुरक्षित तरिकाले फर्कन वातावरण बनाउन सरकारसँग माग गरेको छ।












