तमू समाज कुवेतको बृहत रक्तदान, १२६ जनाले गरे रक्तदान
नेपाली समुदायको बाक्लो उपस्थिति रहेको कार्यक्रममा नेपाली मूलका भारतीय, भुटानी र श्रीलङ्कन नागरिकहरू पनि सहभागी भए।
काठमाडौं, चैत २० : मानवीय सेवाको भावनालाई आत्मसाथ गर्दै तमू (गुरुङ) समाज कुवेतले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
पश्चिम एसियामा विकसित पछिल्लो चुनौतिपूर्ण र विषम परिस्थितिका बाबजूद समाजले २७ मार्च शुक्रबारका दिन कुवेतको सेन्ट्रल ब्लड बैङ्कसँगको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।
क्षेत्रीय अस्थिरताका कारण हुन सक्ने रगतको अभावलाई मध्यनजर गर्दै सेन्ट्रल ब्लड बैङ्कको विशेष अनुरोधमा आयोजना गरिएको १०औं बृहत रक्तदान कार्यक्रममा १२६ जनाले रक्तदान गरेका थिए। नेपाली समुदायको बाक्लो उपस्थिति रहेको कार्यक्रममा नेपाली मूलका भारतीय, भुटानी र श्रीलङ्कन नागरिकहरू पनि सहभागी भए।

कुवेतका लागि नेपाली राजदूत घनश्याम भुसालले समाजले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा बोल्दै प्रवासमा रहेर पनि तमू (गुरुङ) समाज, कुवेतले मानवीय कार्यमार्फत नेपाली समुदायको शिर उच्च राखेको बताए। यस्ता परोपकारी कार्यहरूले दुई देशबिचको सम्बन्ध र मानवीय संवेदनालाई प्रगाढ बनाउने उल्लेख गर्दै उनले आगामी दिनमा पनि निरन्तरताका लागि शुभकामना दिए।
समाजका अध्यक्ष रञ्जना गुरुङले प्रवासमा रहेका नेपालीलाई मानवीय सेवामा उत्प्रेरित गर्दै समाजप्रति उत्तरदायी बनाउने एवम् उपचार गराइरहेका बिरामीलाई रगतको अभाव हुन नदिन सहयोग पुगोस् भनेर कार्यक्रम आयोजना गरिएको बताए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्वयंसेवक, प्राविधिक टोली, रक्तदातासहित सबैलाई धन्यवाद दिए।












