Kathmandu Press

खाडीमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ

पक्राउ पर्नेमा साउदी अरेबियामा चार, यूएई र कतारमा तीन/तीन तथा ओमानमा एक जना रहेका छन्। 
खाडीमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ

काठमाडौं, चैत २० : इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री, तस्बिरलगायत सामाजिक सञ्जालमा पोष्ट गरेका कारण पश्चिम एसियाका विभिन्न मुलुकमा ११ नेपाली पक्राउ परेका छन्। परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो। 

पक्राउ पर्नेमा साउदी अरेबियामा चार, यूएई र कतारमा तीन/तीन तथा ओमानमा एक जना रहेका छन्। 

क्षेप्यास्त्र तथा ड्रोनमार्फत भइरहेको आक्रमणको तस्बिर तथा श्रव्यदृश्य सामग्री खिचेर कुनै पनि सामाजिक सञ्जालमा डर त्रास देखाउन पोष्ट गरे कानुनी सजाय भोग्नुपर्ने व्यवस्था छ। 

त्यही अनुरुप हालसम्म ११ नेपालीलाई सामाजिक सञ्जालमा त्यस्ता किसिमका सामग्री राखेर कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए। 

‘पक्राउ परेका नेपाली नागरिकको अवस्था र छुटाउन सकिने विषयमा सम्बन्धित देशका दूतावास र नियोगहरुसँग जानकारी दिने काम भइरहेको छ । पक्राउ परेका नेपाली नागरिक कुन कानुन उल्लङ्घनअन्तर्गत पक्राउ गरेका हुन् र कति जरिवाना लाग्छ भन्नेबारे जानकारी लिने काम भइरहेको छ,’ उनले भने।

मध्य पश्चिम मुलुकमा युद्धको प्रभावका कारण रोजगार गुमाउनुपर्ने जोखीम नरहेको प्रवक्ता क्षेत्रीले बताए। उनका अनुसार खास गरी होटल, रेष्टुरेण्ट र पर्यटन जस्ता  क्षेत्रमा नेपाली कामदारले जागीर गुमाउने चिन्ता बढेको भए पनि ठूलो क्षेत्रमा त्यसको खतरा नरहेको सम्बन्धित नियोगहरुले जानकारी दिएका छन्। 

खाडी मुलुकमा युद्धबाट प्रभावीत÷ असुरक्षित भई घर फर्किन चाहने नेपालीलाई उद्धार गर्ने काम निरन्तर भइरहेको उनले बताए। 

प्रकाशित मिति: १७:३२ बजे, शुक्रबार, चैत २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्