एमसीसी खारेज गर्न हर्क साम्पाङकाे माग
उनले सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी अमेरिकी सहायता परियोजना एमसीसी खारेजी गर्नुपर्ने बताए।
काठमाडौं, चैत १९ : श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद हर्क साम्पाङले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सदन र सरकारमा समय व्यवस्थापन र जनताका मागप्रति गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
साम्पाङले आफूले आफैंलाई परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै समयको मूल्य बुझ्नुपर्ने बताएका छन्।
‘सबैभन्दा पहिले आफूले आफैंलाई परिवर्तन गर्नुपर्छ। अघिल्लो सपथ ग्रहणको दिन पनि १२ मिनेट ४६ सेकेण्ड ढिलो थियौं भने आज १६ मिनेट ५५ सेकेण्ड हामी ढिलो भएका छौं । जनताले हामीलाई यसरी ढिलो गर भनेर पठाएको हो जस्तो लागेन। त्यसैले प्रत्येक मिनेटको महत्व यो सदनले बुझोस्, सरकारले बुझोस्, हामी सबैले बुझौं,’ उनले भने, ‘नेपाली हो, नेपाली समय २ बजेको बैठक ३ बजे जाँदा पनि हुन्छ, जे गर्दा नि हुन्छ भनेर भाष्य मनमा लिएर बसेका छौं, त्यो नै उन्नति गर्न नसक्नुको मुख्य कारण हो।’
साथै उनले एमसीसी खारेज गर्न माग गरेका छन्। उनले सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी अमेरिकी सहायता परियोजना एमसीसी खारेजी गर्नुपर्ने बताए।
‘म आफनो मन्तव्य राख्नुभन्दा पनि सरकारले कसो गर्नुपर्ने हो । म जनताको मागहरु जनताले चाहेका कुराहरु के कस्ता छन् भन्ने कुरा बुँदागत रुपमा बाचन गर्न चाहन्छु। पृथ्वी रहिरहुन्जेलसम्म यो देश रहनुपर्छ । हाम्रो देशको अंकित झण्डा रहिरहनुपर्छ, यो मान्यता राख्दर्छौं,’ उनले भने, ‘देशको स्वाधिनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइ राख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नुपर्छ भनेर माग गर्दछु।’












